१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

परम्परागत संस्कृति र पहिरन हराउँदै

परम्परागत संस्कृति र पहिरन हराउँदै
अ अ+ अ-

जुम्ला । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैंटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन ।

कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीले बताउनुभयो । पश्चिमेली संस्कृति र शहरी क्षेत्रको पहिरनले जिल्लाको पूर्खर्यौली संस्कृति र पहिरन ओझेलमा परेको देउडा गायक पदमबहादुर रोकायाको भनाइ छ  ।

युवा पुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको छ । अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत सङ्गीतमा रमाउने गरेकाले लोकसंस्कृति ओझेलमा परेको गायक रोकायाले गुनासो पोख्नुभयो । रोकायाका अनुसार बाजेबज्यैको पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालोलगायत गीत लोप हुँदै गएका छन् । विगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको उहाँले बताउनुभयो ।

विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजालगायतमा गाइने झोडा गीत लोप हुँदै गएपछि स्थानीय संस्कृति ओझेलमा परेको भण्डारीको भनाइ छ । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइने उहाँको अनुभव छ । उहाँका अनुसार दुई दशकअघिसम्म १५ र २० महिला आपसमा सवालजवाफ गर्दै यो गीतमा रमाउने गर्थे । दशकयता जुम्लाका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । घरमै उत्पादित ठेटुवाबाट दौरासुरुवाल बनाइन्थ्यो । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोशाक हराउन थालेको उनको भनाइ छ ।
त्यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन् । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पञ्चेबाजा सङ्कटमा परेको गाउँका धामीले बताउने गरेका छन । विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको उनीहरुले बताएका हुन । विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन् । अहिले सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन । गाउँबस्तीमा ६० कटेका वृद्धालेसमेत परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन ।

खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डुरी, ढुङ्ग्री, कालो, पहेंँलो, सेतो पोते, कपुर्ने मालालगायत पुराना गहना गाउँमा लगाउन छाडेको कनकासुन्दरी गाउँपालिका–५ की स्यानु रावतले बताउनुभयो । संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाचसमेत लोप भएको उहाँको भनाइ छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीयवासी सार्के बुढाको भनाइ छ ।

करिब १५ वर्षअघिसम्म मङ्सिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुब सुनिन्थे, हुडेलाई पनि भ्याइनभ्याइ हुन्थ्यो । सार्के बुढाका अनुसार तर अहिले त गाउँमा कसको विवाह भयो भनेर पाँच र सात दिनसम्म थाहै नहुने विवाहमासमेत आधुनिक चलन भित्रिएको छ । पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटी गाउने परम्परा थियो ।

बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरु जस्तै देखिने हुडो समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) का कथा (भात्ता) भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो । आजभोलि त जन्ती जाने चलनै हरायो । बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुडो बजाइन्थ्यो तर अहिलेका पुस्तालाई हुडोबारे केही थाहा नभएको उहाँले गुनासो पोख्नुभयो । जिल्लामा पछिल्लो समय परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेकाले संरक्षणका लागि स्थानीय सरकारको ध्यान जान जरुरी रहेको स्थानीय तथा देउडा गायक पदमबहादुर रोकायाले बताउनुभयो ।