विश्व सम्पदा सूचीमा सूचीकृत तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा विगत १२–१३ वर्षदेखि जम्मा हुँदै आएको चुनाको तह हटाउने कार्य औपचारिक रूपमा आजदेखि प्रारम्भ गरिएको छ।
समयक्रमसँगै महाचैत्यको गुम्बजमा बारम्बार गरिने सेतो पोताइ (चुना लगाउने कार्य) का कारण चुनाको तह बाक्लिँदै जाने गर्दछ। हाल उक्त तहको मोटाइ करिब १३ इन्च पुगेको छ। यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा उक्त तह २९–३० इन्च सम्म पुगेको थियो।
स्वयम्भू महाचैत्य केवल एक धार्मिक सम्पदा मात्र नभई सम्पूर्ण नेपालीहरूको गौरव, सभ्यता र सांस्कृतिक पहिचानको प्रतीक भएकाले यसको संरक्षणमा सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको छ।









