भोजपुर । षडानन्द नगरपालिका– ७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण उक्त अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् ।
अस्पताल भवन रु दुई करोड ४५ लाख १७ हजार १५८ मा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण गरेको थियो । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि राखिएको मूल ढोकाको पिल्लर र दक्षिण भागको बाहिरी पर्खाल भत्किएको छ । भारतीय दूतावासका प्रतिनिधि वेद प्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरप्रमुख वीरबल राईलाई २०७५ मङ्सिर २८ गते भवनको ताल्चा–साँचो जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाइले जानकारी दिनुभयो ।
नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा उक्त अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याइने नगरप्रमुख राईले बताउनुभयो ।