५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै



अ+ अ-

काठमाडाैँ । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आज शुक्रबार (२२ जेठ)देखि आउने सोमबार (२५ जेठ)सम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ । घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाउनुभएको हो ।

विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन् । जिल्लामा मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी छ । मध्य र दक्षिणी क्षेत्रको चिम्टयाइलो र लिसाइलो माटो हुँदा कम तात्ने हुन्छ । तर उत्तरी क्षेत्रको धेरैजसो भेगमा बलौटे माटो भएको हुँदा चाँडै तात्ने र तातो वाफ फैलँदा यता राप र गर्मीको असर बढेको जलवायु र मौसमविज्ञ बर्दिबास–१ का बासिन्दा नागदेव यादव बताउनुहुन्छ ।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा पनि अब भोलि शनिबार र पर्सि आइतबारको मौसम अवस्था हेरेर यसबारे निर्णय लिने तयारीमा स्थानीय तह छन् । “शनिबार र आइतबार त नियमित साप्ताहिक बिदा नै छ, यसपछि सोमबारसम्म मौसममा सुधार नआए के गर्ने भन्ने सोचिन्छ”, एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले भन्नुभयो ।

जिल्लामा १० नगरपालिका, पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । यसपटक गत शनिबारयता तापक्रम निकै बढेको छ । त्यसयता दिनहुँजसो एकटङ्कारको घामको राप बढ्दो छ । मध्याह्नदेखि अपराह्न ४ः०० बजेसम्म ३८÷३९ डिग्री सेल्सियस तापमान रहने गरेको छ । यो पछिल्लो साताको उखरमाउलो गर्मीले हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । सामान्य हिँडडुल पनि सकस बनेको छ । यसले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।