१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

छठको दोस्रो दिन निर्जल उपवास

छठको दोस्रो दिन निर्जल उपवास
अ अ+ अ-

काठमाडौँ । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।

छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । राजधानीका वाग्मती किनारस्थित गुह्येश्वरीबाट गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा विगत वर्षदेखि नै छठ मनाइन्थ्यो । यस वर्षदेखि नागपोखरीमा पनि छठ मनाउन लागिएको छ ।

छठ मनाइने स्थानमा घाट निर्माण भइरहेको छ । नदी र पोखरी क्षेत्रमा साजसज्जालगायत तयारी भइरहेको आयोजक समितिले जनाएको छ । गुह्येश्वरी क्षेत्रमा मात्रै लाखौँ भक्तजन छठ मनाउन आउने गर्छन् । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट बनाउन लागिएको गुह्येश्वरी छठ समितिका संयोजक रामबाबु महासेठले बताउनुभयो ।