२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उहाँले बताउनुभयो । 

हिजो मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आज बिहान ८ बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएको थियो । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी दिउँसो १ बजेदेखि हुने निर्वाचन समितिले तय गरेको थियो । तर अझै मतपत्र छपाइ हुन नसकेकाले मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ । 

यसअघि आजै मतदान हुनुपर्ने र रातिको समयमा मतदान गर्न नहुने भन्दै दुई पक्षबीच केही बेर झडपसमेत भएको थियो । दुई समूहबीच झडप हुन थालेपछि अधिवेशन स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

संस्थापन पक्षबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठ, सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रिता यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।