९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको दिल्ली भ्रमण सफल होस्, तर ‘गड्याङगुडुङ’ का आवाज प्रिय छैनन् : बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धका संवेदनशील विषयमा दुवै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले रवि लामिछानेको द हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखले नेपाल र भारत दुवैतर्फ सकारात्मक चर्चा ल्याएको उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी, सभ्यता र संस्कृति तथा ‘रोटी–बेटी’ सम्बन्धका विषयमा दुवैतर्फ प्रशंसा हुने गरे पनि सम्बन्धको अर्को गम्भीर पाटो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको बताएका छन्।

भट्टराईका अनुसार भारतीय पक्षमा अंग्रेज शासनकालदेखि नै ‘हिमालयन फ्रन्टियर’ अर्थात् हिमाली क्षेत्रलाई आफ्नो सुरक्षा चासोको घेराभित्र हेर्ने सोच कायम रहेको छ भने नेपाली समाजमा ‘सिक्किमीकरण’ को त्रास गहिरोसँग बसेको छ। यही मनोवैज्ञानिक र राजनीतिक कारणले नेपाल–भारत सम्बन्ध बारम्बार जटिल बन्ने गरेको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफू सरकार प्रमुख हुँदा यही जटिलता समाधान गर्न नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरू सम्मिलित ईपीजी (प्रबुद्ध व्यक्ति समूह) को अवधारणा अघि सारेको स्मरण गरेका छन्। तर, गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म कार्यान्वयनको पर्खाइमा रहेको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

भट्टराईले रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिँदै आएको दुष्चक्र तोड्न योगदान पुर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। यद्यपि, पछिल्ला दिनमा काठमाडौं र दिल्ली दुवैतर्फ सुनिएका ‘गड्याङगुडुङ’ का आवाज आफूलाई त्यति प्रिय नलागेको टिप्पणी पनि गरेका छन्।