४ श्रावण २०८३, सोमबार
,
Latest
दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप–२०२६ मा खेल्ने १० सुपरस्टार फुटबलर



अ+ अ-

काठमाडाैं: फुटबल इतिहासमा विश्वकप सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागी हुन, नाम लेखाउन र आफूमा रहेको कला देखाउन सबैजसो खेलाडीले प्रयास गरिरहेका हुन्छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल–२०२६ मा पनि केही चर्चित खेलाडीको नाममा खेलप्रेमीहरुको विशेष ध्यान गएको छ ।

उनीहरुका खेल कौशल वर्षौंदेखि देखिए पनि हरेक खेलमा उनीहरुका पक्षमा खेलप्रेमीहरु झुम्मिएकै हुन्छन् । आफ्नो प्रिय खेलाडीले राम्रो खेलोस् भनेर व्यग्रतापूर्वक खेलप्रेमीहरु प्रतिक्षारत हुन्छन् । यस पटक पनि त्यही क्रम पुनरावृत्ति हुनु अनौठो होइन । अहिले सबैको नजर यी यस्तै अदभूत खेलाडीमै सोझिएको छ । कतिपय खेलाडी पाका भइसके पनि उनीहरुलाई हेर्न अझै पनि दर्शकमाझ तँछाडमछाड नै छ ।

उनीहरुका फ्यान जर्सी लगाएर मैदानमा उत्रने मात्र होइन, विश्वभर सानाठूला सबै उमेर समूहका व्यक्तिहरु जर्सी लगाएर टेलिभिजन सेट अघिल्तिर, रेस्टुराँ, होटल र पार्कमा भेला हुनेछन् ।

यस पटकको विश्वकपमा यी १० खेलाडी सर्वाधिक हेर्नलायक खेलाडीका रूपमा रहेका छन् ।

१. लियोनेल मेसी

लियोनेल मेसीले चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदै आफ्नो खेल जीवनको सबभन्दा ठुलो सपना पूरा गरेका थिए । मेसीले विश्वकप ट्रफीका लागि १८ वर्ष पर्खिए । कतार विश्वकपलाई मेसीकै विश्वकपका रूपमा सम्झना गरिने छ । मेसीले क्लब, देश र व्यक्तिगत रूपमा लगभग सबै प्रमुख उपाधि जितिसकेका छन् । उनी अहिले डिएगो म्याराडोना र पेले सरह सर्वकालीन महान् फुटबलर हुन् कि होइनन् भन्ने बहस जारी छ । मेसीले लगातार दोस्रो पटक विश्वकप जितेमा उनको सो दाबी अझ बलियो हुने छ । मेसी अहिले विश्वकप आयोजक अमेरिकाकै इन्टर मियामी सिएफबाट खेलिरहेका छन् ।

२. क्रिस्टियानो रोनाल्डो

विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई विश्वकप ट्रफीले लोभ्याइरहेको छ । विश्वकप बाहेक आफ्नो सङ्ग्रहमा प्राय: सबै ट्रफी जम्मा गरिसकेका ४१ वर्षीय रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ । उनको गौरवशाली खेल जीवनमा छुटेको एक मात्र ठुलो उपाधिको खोजीमा रोनाल्डो छैटौँ पटक विश्वकप खेल्दैछन् । उनको सङग्रहमा पाँच च्याम्पियन्स

लिग उपाधि र एक युरोपियन च्याम्पियनसिप ट्रफी तथा दुई पटक नेसन्स लिग उपाधि रहेका छन् । पाँच पटक बालन डी ओर जितिसकेका रोनाल्डो सर्वाधक अन्तर्राष्ट्रिय गोल (१४३) गर्ने खेलाडी पनि हुन् । यद्यपि रोनाल्डोको उपाधि जित्न भोक अलिकति पनि कम भएको छैन । पोर्चुगलका कप्तान रोनाल्डो अल नासर एफसीलाई साउदी लिगको उपाधि दिलाएर विश्वकपमा प्रवेश गर्दैछन् ।

३. किलियन एम्बापे

एम्बापेलाई लामो समयदेखि मेसी र रोनाल्डोपछि विश्वकै उत्कृष्ट खेलाडी बन्ने सम्भावित उत्तराधिकारी मानिँदै आएको छ । उनले १९ वर्षकै उमेरमा फ्रान्सलाई
विश्वकप दिलाएका छन् । पछिल्लो संस्करणको फाइनलमा एम्बापेले ह्याट्रिक गरेर पनि फ्रान्सलाई जिताउन सकेनन् । छिटो दौडने र गोलपोस्टमा सटिक प्रहार गर्ने उनी पछिल्लो विश्वकपमा गोल्डेन बुट जित्ने खेडाली थिए । विश्वकप विजेता र अन्य धेरै उपाधि जितिसकेको भए पनि एम्बापेले अझै च्याम्पियन्स लिग र बालोन डी ओर हासिल गर्न सकेका छैनन् । त्यसैले पनि उनलाई यस पुस्ताका सर्वश्रेष्ठ खेलाडीमध्ये एक मान्नेमा नै प्रश्न उठ्ने गरेको छ । यसपालि फ्रान्सलाई फेरि विश्वकप दिलाउन सकेमा एम्बापे यस वर्षको बालोन डी ओर जित्ने बलियो दाबेदार बन्न सक्नेछन् ।

४. एर्लिङ हालान्ड

म्यान्चेस्टर सिटीका नर्बेजियाली स्ट्राइकर एर्लिङ हालान्ड पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता खेल्दैछन् । हालान्ड अहिलेका विश्वकै उत्कृष्ट स्ट्राइकरभन्दा फरक पर्दैन । उनले प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि पछिल्ला चार वर्ष हरेक सत्र ३० भन्दा बढी गोल गरेका छन् । अग्लो कदका हालान्डले नर्वेको जर्सीमा पनि ५५ गोल गरिसकेका छन् । हालान्डलाई पनि थाहा छ, यस पटकको विश्वकपमा नर्वेको छवि उच्च पार्न सबभन्दा ठुलो जिम्मेवारी उनकै हुनेछ । हालान्ड यस विश्वकपको सबैभन्दा घातक फरवार्डमध्ये एक हुनेमा कुनै द्विविधा छैन ।

५. लामिन यमाल

स्पेनका किशोर उमेरका फरवार्ड यमालले सन् २०२४ मा स्पेनलाई युरापेली च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेर आफ्नो क्षमता देखाइसकेका छन् । १८ वर्षीय यमाल अझ अनुभवी भएर विश्वकप खेल्दैछन् । तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र सिर्जनशील खेल शैलीका कारण यमालको तुलना मेसीसँग हुने गर्दछ । भविष्यमा मेसी र रोनाल्डोले छोड्ने खाली स्थान भर्ने सबैभन्दा सम्भावित खेलाडी यमाल हुनेछन् ।

६. उस्मान डेम्बेले

हालका बालोन डी ओर विजेता उस्मान डेम्बेले लगातार च्याम्पियन्स लिग विजेता बनेर विश्वकप खेल्दैछन् । तीन वर्षअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएपछि फ्रान्सका यी फरवार्ड गजबले विश्व फुटबलको उचाइमा पुगेका छन् । उनकै उपस्थितिले पनि फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा लिइएको छ ।

७. नेमार

नेमारले आफ्नो खेल जीवनमा ब्राजिललाई धेरै खेल जिताएका छन् । यद्यपि ब्राजिललाई छैटौँ विश्वकप दिलाउने सपना अझै पूरा भएको छैन । ३४ वर्षीय नेमारले चौथो पटक विश्वकप खेल्न लागेका हुन् ।

नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले ब्राजिलको जर्सीमा ७९ गोल गरिसकेका छन् । नेमार फिटनेसका कारण टिममा नपर्ने हल्ला थियो तर हाल ब्राजिलको कमजोर प्रदर्शनपछि प्रशिक्षक कार्लो एन्सोलेटीले अन्तिम समयमा नेमारलाई विश्वकप टोलीमा समावेश गरेका थिए ।

८. मोहम्मद सलाह

लिभरपुलबाट खेल्ने मोहम्मद सलाह इजिप्टका आदर्श फुटबलर हुन् । उनले इजिप्टका लागि ४४२ खेलमा २५७ गोल गरेका छन् । च्याम्पियन्स लिग तथा दुई प्रिमियर लिग उपाधि सलाहको सङ्ग्रहमा रहेका छन् । इजिप्टका समर्थकले विश्वकपमा सलाह उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । यससत्र लिभरपुल प्रशिक्षकसँगका केही असमझदारीका कारण खेलप्रतिभा देखाउन नसकेका सलाहले गत सत्र भने इङ्ग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेर सानदार लयमा देखिएका थिए । गत विश्वकपमा सलाहको टिम इजिप्ट प्ले अफमा सेनेगलसँग टाइब्रेकरमा हारेपछि विश्वकपमा चयन हुन सकेको थिएन । पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडी सलाह नै थिए । त्यसैले पनि सलाहले यस विश्वकपमा सो पीडा भुलाउन प्रयास गर्नेछन् ।

९. ह्यारी केन

विश्वकपमा अभागी टिमको नाम लिनुपर्दा इङल्यान्डलाई लिइन्छ । इङल्यान्डमा फुटबल खेलका लागि धेरै लगानी र खेलाडी रहे पनि विश्वकपमा सोचेजस्तो नतिजा हासिल भइरहेको छैन । कैयौं वर्षदेखि विश्वकप उपाधि जित्ने सम्भावना र प्रतिभावान खेलाडी भएर पनि त्यो सपना पुरा भएको छैन । यसपटक इङल्यान्डको टिममा कप्तान ह्यारी केन छन् । जर्मन क्लब बायर्न म्युनिखका सर्वाधिक सफल खेलाडीका रुपमा रहेका ह्यारी केनबाट इङल्यान्डले केही आशा गरेको छ ।

१०. क्रिस्टियन पुलिसिच

पुलिसिचलाई अमेरिकी फुटबलको सुपरस्टार खेलाडी हुन् । उनीसँग जर्मनी, इङ्ग्ल्यान्ड र इटालीका ठुला क्लबमा खेलेको अनुभव छ । चेल्सीमा आबद्ध हुँदा पुलिसिचको टिम च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो । पुलिसिच हाल इटालीको ठुलो क्लब एसी मिलानमा आबद्ध छन् । त्यसैले घरेलु भूमिमा हुने विश्वकपमा पुलिसिच अमेरिकी टोलीका मुख्य आशाका रूपमा रहने छन् ।

माथिका १० खेलाडीबाहेक, ब्राजिलका भिनिसियस जुनियर (ब्राजिल), लुइस डियाज (कोलम्बिया), जुलियन अल्भारेज (अर्जेन्टिना) समेत अनेक सर्वश्रेष्ठ र प्रतिभावान खेलाडी यस विश्वकपमा खेल्दैछन् । (गोरखापत्र र एजेन्सीको सहयोगमा)