काठमाडाैँ । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सिंहविरुद्ध लगाइएका विभिन्न आरोपसम्बन्धी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको हो। अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता प्राप्त गरेको आरोपमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको छ।
यसअघि लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले जेठ १२ गते सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा उपस्थित भए पनि आवश्यक कानुनी प्रक्रियामा सहभागी नभई सम्पर्कविहीन बनेका थिए।
अदालतको आदेशपछि प्रहरीको विशेष टोलीले उनलाई मंगलबार पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि अदालतमा उपस्थित गराइएका सिंहमाथि भएको प्रारम्भिक सुनुवाइपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी विवरण र कागजातको सत्यतामाथि प्रश्न उठेपछि मुद्दा दर्ता भएको थियो। अदालतको पछिल्लो आदेशसँगै उनी धरौटी बुझाएर रिहा हुने कानुनी बाटो खुलेको छ।











