काठमाडौं । काठमाडौं महानगरपालिकाले खेलकुद विकास तथा प्रवद्र्धनका लागि विभिन्न संघसंस्थाहरुसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ ।
महानगरले बुधवार एक कार्यक्रमका बीच खेलकुदसम्बन्धी तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार नेपाल पौडी संघले महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्नेछ ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघले वडास्तरीय व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तथा वागमती प्रदेश क्रिकेट संघले टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेगरि सम्झौता भएको हो । महानगरका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले महानगरभित्र लुकेका प्रतिभालाई पहिचान गरेर अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँका अनुसार नेपालमा क्रिकेटसहित विभिन्न खेलको प्रदर्शन उत्साहजनक रहेको छ । महानगरपालिकाले गर्ने गतिविधिलाई देशभरबाट चासोका साथ हेर्ने भएकोले खेल क्षेत्रको विकासका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने जनाएको छ । सोही लक्ष्यअनुसार आगामी दिनमा थप प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ ।











