• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल

कात्तिक नाचः देवी नृत्य मञ्चन हुने



ललितपुर । जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ ।

आज उषाहरण लीलामा आधारित नाच मञ्चन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । कात्तिक नाचका लागि आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक र सहयोगी गरी करीब १०० कलाकारको सहभागिता रहने भए पनि देवी नृत्यमा १२ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गर्नुभएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित सो नाचमा विष्णुको अवतार, नृसिंह, राजा हिरण्यकश्यपु र विष्णुभक्त प्रल्हादका कथा छ ।

उक्त नाचलाई महत्व दिन ललितपुर महानगरपालिका, पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याब्रोटरीलगायत इच्छुक व्यक्तिले सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यसले अपुग हुने उक्त समितिले जनाएको छ ।

समितिका सदस्य भन्छन्, “यो नाच सञ्चालन गर्न करीब रु १६ लाख लाग्ने भए पनि यो वर्ष करीब रु छ लाखमा सो कार्यक्रम सक्ने योजना बनाएका छौँ।” विसं १६५७ मा पहिलोपटक पाँच दिनसम्म आयोजना गरिएको सो नाच विसं १७२३ मा सात दिन थप गरी १२ दिनसम्म मनाइएको थियो भने विसं १७४० मा १५ दिन थप गरी २७ दिनसम्म मनाइएको थियो । विसं २००७ देखि २०३७ सम्म ३० वर्ष (आर्थिक अभाव र राजनीतिक परिवर्तनका कारण) दुई दिन मात्र नाच आयोजना गरिएको थियो । विसं २०३८ मा आठ दिनसम्म मात्र आयोजना गरिएको सो नाच विसं २०७१ देखि १२ दिनसम्म आयोजना हुँदै आएको छ ।