काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले वित्तीय सङ्कट गहिरिँदै गएको भन्दै निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी आकस्मिकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ।
बोर्डको जेठ ११ गते बसेको बैठकले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाले उपलब्ध गराउँदै आएका आकस्मिक सेवाबाहेकका अन्य सबै स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा बोर्डले जारी गरेको पत्रमा बोर्डमा देखिएको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ।
बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले हस्ताक्षर गरेको पत्रमार्फत सम्बन्धित सबै निजी स्वास्थ्य संस्थालाई निर्णयबारे जानकारी गराइएको छ। साथै, उक्त सूचना बोर्डको वेबसाइटमा प्रकाशन गर्न सूचना प्रविधि शाखालाई निर्देशन दिइएको जनाइएको छ।











