• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

राजदूतावास अगाडि धर्ना



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गर्नुभयो भने सहसंयोजक रञ्जीत तामाङले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गर्नुभयो ।

अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर धर्ना दिएको थियो । विद्यार्थी नेता सुदेश पराजुलीले आइतबार नेपालको भूमि फिर्ता गराउन परराष्ट्रमन्त्रीलाई कूटनीतिक तवरबाट पहल गर्न दवाव दिने र सोमबार संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिनुभयो । यसअघि नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले नेपाली भूमि मिचिएको र नयाँ नक्सा आफूहरुलाई अमान्य भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

यस्तै कालापानी, लिपुलेकलगायत नेपाली भू–भागलाई भारतीय क्षेत्रका रुपमा चित्रण गरी भारतले हालै प्रकाशन गरेको भनिएको नयाँ नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । छ दशकदेखि नेपालको कालापानी भूमिमाथि अतिक्रमण भएको भन्दै उक्त समाजले त्यसलाई सच्याउन माग गर्दै पुनः पुरानै गल्ती दोहोर्याएर त्यस्तो नक्सा प्रकाशन गरेकामा आपत्ति जनाएको हो ।

“भारतको यस्तो गल्तीले नेपाल–भारतबीच विद्यमान सौहार्द्रपूर्ण, सुमधुर एवं नागरिकस्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ, तसर्थ उक्त गल्ती शीघ्र सच्याउँदै नेपाली भू–भाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई आग्रह गर्दछ”, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी नेपाली भू–भागको संवेदनशील विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्रीस्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन पनि उक्त समाजले आग्रह गरेको छ ।