काठमाडाैँ । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणसँग सम्बन्धित लेनदेन मुद्दामा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने म्याद सूचना जारी गरेको छ।
अदालतका अनुसार स्याङ्जा जिल्ला, साविक अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ (हाल अर्जुनचौपारी गाउँपालिका–२, लामडाँडा) स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४, थसिखेलमा बसोबास गर्दै आएकी ४८ वर्षीया ज्योती गुरुङका नाममा उक्त सूचना प्रकाशित गरिएको हो।
उप्रान्त बोध विक्रम थापाले दायर गरेको लेनदेनसम्बन्धी मुद्दामा यसअघि जारी गरिएको म्याद बदर भई मिति २०८३ जेठ ५ गतेको अदालतको आदेशअनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम म्याद सूचना प्रकाशित गरिएको अदालतले जनाएको छ।
सूचनाअनुसार म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक २१ दिनभित्र सम्बन्धित पक्षले आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत प्रमाण तथा सबुदसहित प्रतिउत्तरपत्र दायर गर्दै अदालतमा उपस्थित हुनुपर्नेछ।
म्यादभित्र उपस्थित नभएमा मुद्दा कानुनबमोजिम अगाडि बढाइने र पछि कुनै उजुर लाग्ने छैन भन्ने चेतावनीसमेत अदालतले दिएको छ।











