१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा महामन्त्रीहरुलाई खुलापत्र



अ+ अ-

आदारणीय महामन्त्रीद्धय ज्यू ,

देशको पुरानो लोकतान्त्रिक दलको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना । २०६२/०६३ को आन्दोलन पश्चात नेपालको राजनीतिक दलका कृयाकलाप प्रति निश्किृयप्रायः रहेको मलाई नेकपा एमालेको चितवन महाधिवेशन र नेपाली कांग्रेसको यो महाधिवेशनप्रति भने केहि चासो पैदा भयो । थाहा भएन किन एकाएक यी महाधिवेशनमलाई केहि खास लाग्यो । 

बुढो कांग्रेसलाई युवाहरुले जिम्मा लिन अवसर पाउलान वा नपाउलान भनेर मलाई कौतुहलता जागेजस्तो अहिले पनि लाग्दैन । अमुक दलमा अमुक व्यक्ति आउन् वा नआउन् मेरो दैनिकीसंग प्रत्यक्ष सरोकारको विषय होइन पनि । यति भन्दा भन्दै पनि देशका ठूला राजनीतिक दलहरु जसले यो देश हाक्ने अवसर पाएका छन र भविष्य पनि तिनै दलको हातमा निर्भर छ नै । मेरो जीवन र मेरो पुस्ताको भविष्य कस्तो हुने भन्ने विषय चाहेर वा नचाहेर पनि देशका यीनै ठूला दलहरुसंग जोडिएको छ । 

मतदानमा मत खसाल्नु र जीवनमा कुनै राजनीतक चिन्तन वा सिद्धान्त वोकेर हिड्नु पृथक कुरा हुने रहेछ । यसो भन्नुको अर्थ म कुनै राजनैतिक विचार नवोके पनि राजनितीक प्राणि चाही अवस्य हुं भन्ने नै हो । त्यसैले राजनीतिक दल राम्रा वनुन देश र जनताको बृहत्तर हित केन्द्रित होउन भन्ने अपेक्षा राख्नु नेपाली नागरिकको हैसियतले मेरो अधिकार पनि हो र लोकतान्त्रिक शासन पद्धती अवलम्वन भैरहेको देशको नागरिकको कर्तव्य पनि हो । 

महामन्त्रीज्यू

तपाईहरु अहिले विजय उत्सवमा हुनुहुन्छ । वधाई तथा शुभकामनाका कार्यक्रममा भ्याइ नभ्याई छ । संचार माध्यममा टिप्पणी, अन्तर्वाता दिइरहनु भएको छ । यस्तो अवस्थामा थाहा छैन तपाईलाई यो पत्र पढ्ने फुर्सद छ छैन । संचार माध्यमका प्रश्नहरु देउवासंगको सहकार्य कसरी बढाउनुहुन्छ, अर्को प्यानलालाई कसरीसंगै लैजानुहुन्छ, बामपन्थी दलहरुसंगको तपाईको सोंच के रहने छ, आगामी महाधिवेशनमा सभापती बन्नुहुन्छ ? वा यस्तै छन । त्यो भन्दा बढी अपेक्षा गर्न पनि सकिदैंन किनकि हामी यस्तै परिवेशमा रहेका छौं । तीनै प्रश्नमा रुमलिइरहदा राष्ट्रिय जीवनका महत्वपूर्ण सवालहरु संचार माध्यमका लागि पनि गौण भएका छन । 

तपाईहरु ढिलो चांडो दलको शिर्ष नेता बन्नुहुने नै छ । यससंगै देश हाक्ने जिम्मेवारी अवश्य तपाईहरुको कांधमा आउने नै छ । नेपाली कांग्रेसलाई कार्यकर्ताको दल होइन आम नेपाली नागरिकको दल बनाउन तथा तपाईहरु दलको नेता होइन सम्पूर्ण नेपालीहरुको अभिभावक वन्ने सम्वन्धमा तल उल्लेखित सवालको संवोधन कसरी गर्नु होला भन्ने जान्ने हक मसंग सुरक्षित रहेको महशुस गरी तपाईहरुलाई यो खुलापत्र लेख्दैछु ।

कृषिः
करिव दुई तिहाई जनशक्ति कृषिमा आश्रित भए पनि अर्बौको कृषि उपज आयात गरिरहेका छौं । भएको कृषि योग्य भूमि बांझै रहेको छ । यो क्रम घट्दो होइन बढ्दो रहेको छ । कृषिमा उपयोग भइरहेको जमिनको उत्पादकत्व पनि दक्षिण एशियाको औषतभन्दा तल छ भनिन्छ । मौसमी तथा लुकेको बेरोजगारीको ठूलो हिस्सा कृषिमै रहेको छ । यस्तो पृष्ठभूमिमा नेपालको कृषि प्रणालीमा गुणात्मक फड्को मार्ने तपाइहरुको कार्ययोजना के रहेको छ ? कृषकले समयमा मल विउ नपाएर नुनिलो आशुं वगाउदै काठमाण्डौ धाउनु परेको यथार्य देख्नु सुन्नु भएकै छ । कृषिलाई तल्लो स्तरको पेशा ठान्ने, पढेलेखेका होइन साक्षरसम्म पनि कृषि पेशामा लाग्नु बाध्यता हो भन्ने मानसिकताबाट हामीलाई माथि निकाल्ने योजना के छन ? त्यसता योजना जसले विदेशमा रहेका नेपालीलाई नेपाल फर्केर कृषि पेशामा आवद्ध गराउन सक्ने हुन भन्ने अपेक्षा हामी सर्वसाधारणको रहेको छ ।

उद्योगः
अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्नुलाई औद्योगिकिकरणतर्फको यात्राको संकेतको रुपमा लिन्छन अर्थशाश्त्रीहरु । हाम्रोमा भने अर्थशाश्त्रको यो नियम लागू भएको देखिंदैन । कृषि क्षेत्रको योगदान क्रमशः कम हुंदैं गएको छ भने उद्योग क्षेत्रको योगदान बढ्न सकिरहेको छैन । बरु यसको ओरालो यात्रा कायमै छ । एकातिर भेरहेका लगानीकर्तामा नैराश्यता देखिन्छ भने नयां लगानीकर्ता आकर्षित गर्ने प्रतिष्पर्धी प्याकेज पनि दिन सकिरहेका छैनौं ।  यस्तो अवस्थामा नेपालको औद्योगिक विकास मार्फत निर्यात प्रवद्र्धन गर्दै आयात व्यवस्थापन गर्ने कसरी ? धरातलीय यथार्थसंग मेल खाने व्यवहारिक उपायहरु के वनाउनु भएको छ ?

वैदेशिक रोजगारीः
जनसंख्याको ठूलो हिस्सा त्यसमा पनि युवाहरु दुई छाक खाना कै लागि विदेशिनु परेको यथार्य लुकाएर लुक्दैन । प्रशव पिडा आफ्नो जीवनसाथिसंग बाड्न समेत नपाउने विडम्वना रहेको छ । वावु आमासंगै हुर्किन पाउने एउटा बच्चाको अधिकार देशको अथएतन्त्र मजबुद नभएकै कारण हनन भैरहेको छ । वैदेशिक रोजगारीले एकातिर हाम्रो अर्थतन्त्र कुनै पनि वेला जोखिममा पर्न सक्ने बनाएको छ भने अर्को तर्फ सामाजिक विकृतिहरुको जन्म पनि दिइरहेको छ । विदेशिएको युवा नेपाल फर्केर उद्यमशील जीवन विताउन सक्ने अवस्था छैन र पुनः विदेश भासिनुको विकल्प छैन । यसरी परिवारबाट टाढिएर कहिलेसम्म वस्ने, यसको व्यवस्थापन कसरी गर्ने हो ? आम नागरिकले यसको योजना तपाइहरुबाटअपेक्षा गरिरहेका छन । 

शिक्षा स्वास्थ्यः
शिक्षा स्वास्थ्य मानव अधिकारको विषय बनिसकेको छ । हुन त हामीले संविधानमा यीनलाई मौलिक हकको रुपमा राखिसकेका छौं । शिक्षा तथा स्वास्थ्यमा पहुंच मात्र आजको विषय वन्न सक्दैन । उपलव्ध सेवाहरुवीचको अन्तर कसरी साघुंरो बनाउदै समता कायम गर्ने भन्ने विषय  प्राथमिकताको विषय वन्नु पर्ने देखिन्छ । हामीले चाहेर वा नचाहेर, जानेर वा अनजानवस शिक्षा तथा स्वास्थ्य सेवामा निजी क्षेत्रको नेतृत्वदायी भूमिका रहेको छ । निजी तथा सार्वजनिक संस्थावाट उपलव्ध सेवाको गुणस्तरका वीच देखिएको अन्तर कम गर्नु जति आवश्यक छ त्यति सेवा वापत तिर्नु पर्ने शुल्क आम नागरिकको पहुंचयोग्य बनाउनु पनि । यसलाई संवोधन कहिले र कसरी गर्नु हुन्छ ?

गरिवी निवारणः
भनिन्छ अल्पविकसित देशमा राजनीतिक दलहरु गरिवीलाई देखाएर राजनीति गर्दछन । राजनीति गर्ने सिद्धान्द वा कुनै वाद् भन्दा पनि उनीहरुलाई गरिवी र अभाव सत्ता प्राप्तीको गतिलो औजार हो । कूल जनसंख्यामा पांच भागको एक भाग जनसंख्या गरिवीको रेखामुनि रहेको अवस्था छ । को गरिव, कस्तो गरिव भन्ने प्रश्नको उत्तर नखोजि नखोजि पन्ध्रवटा योजनाहरु कार्यान्वयन गरिसकेका छौं । पछिलला पांच योजनाको केन्द्र त गरिवी निवारण नै देखिन्छ । सानो घटनाले गरिवीको रेखाभन्दा थोरै माथि रहेका नेपालीहरु ह्वात्तै गरिवीको रेखामुनि झर्ने अवस्था झन गम्भिर रहेको छ । कोशीको बाढी होस वा सिन्धुपाल्चोकको पहिरो, भुकम्प होस वा कोरोना महामारी यी सवै आउछन गरिव बढाएरै जान्छन । आगामी निर्वाचनहरुमा तपाइको एउटा पनि निरपेक्ष गरिव मतदाता  नहोस भन्नाका लागि आयमूलक मात्र होइन बहुआयामिक गरिवीको संवोधन कसरी गर्नु होला ? भन्नेतर्फ हाम्रो चासो रहेको छ । 

सार्वजनिक सेवा प्रवाहः
आम नागरिकको सधै रहने गुनासो सार्वजनिक सेवा प्रवाहको गुणस्तरसंग रहेको छ । संघीय संरचनामा स्थानीय स्तरमा जनताले सेवा प्राप्त गर्ने सुनिश्चितता हुन्छ भनिएको थियो । व्यवहारमा झन संरचना मात्र थप हुने तथा एकले अर्को तहलाई देखाएर पन्छिने अवस्था देखिएको छ । सेवा प्रवाह गर्ने राष्ट्रसेवक तथा सेवा प्राप्त गर्ने नागरिक दुवैको क्षमता अभिबृद्धि कसरी गर्ने, सार्वजनिक प्रशासनका नविन प्रवृत्तिहरु नेपालको सार्वजनिक सेवामा कसरी भित्राउने भन्ने विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको छ । संघीयता अवलम्वन गरेको यतिका वर्ष भैसक्दा पनि प्रशासनिक संघीयता बामेसम्म पनि नसरेको अवस्था छ । समग्र सार्वजनिक सेवा प्रवाह जनमैत्री बनाउन तपाइहरुको भूमिका कस्तो रहन्छ । 

नेपाल र नेपालीमा गौरव
एस.इ.इ.को परीक्षाको तयारीमा रहेको लगभग शतप्रतिशत विद्यार्थीलाई नतिजा प्रकाशन भएपछि के गर्ने भनेर सोध्यो भने आउने एउटै उत्तर हो अमेरिका, अष्टेलिया, वेलायत अध्ययनको लागि जाने । कलेजको अध्ययन सकाएर वसेका युवाको पनि वाध्यता एउटै छ खाडी मुलुक छिर्ने । हाम्रो समाजमा विदेश प्रतिको मोह यसरी बढेर गएको छ की छोरा छोरी अमेरिका, यूरोप नपठाएका वावु आमाले आफूलाई अभागी ठान्दछन । मेरो छोरो वा छोरी नेपालमै बसी उद्यमशीलता विकास गरिरहेको छ भनेर गर्वका साथ भन्न पाउने नेपालको निर्माण कसरी गर्ने हो । विश्व भ्रमणमा निस्केको नेपालीले गर्वका साथ नेपालको पासपोर्ट देखाउन सक्ने अवस्था कहिले र कसरी आउला ? 

राजनीति र नेताप्रतिको दृष्टिकोण
राजनीति भनेको फोहोरी खेल हो । सत्ता र शक्ति नै यसको साधन र साध्य दुवै हो रहेछ भनी बुझिरहेका छौ हामीहरु । जुनसुकै व्यवस्था आए पनि उही नेताबाट शाशित हुनु पर्ने अवस्था छ अहिले । व्यवस्था परिवर्तन मात्र गर्ने अवस्था परिवर्तन गर्न नजान्ने वा नचाहने प्राणी नेता हो भनी कहिले सम्म बुझिरहने हो । तिमी पटक पटक असफल भयौं अव विकल्प चाहियो भनेर अनुनय विनय गर्दा पनि लिसो टासिए झै टासिने प्रवृत्तिको अन्त गर्दै अव म विश्राम लिन्छु राजनीति र सत्ता बाहिर रहेर पनि म योगदान गर्न सक्दछु भन्ने नेता र त्यस्तो भनीरहंदा आम नेपालीले होइन तपाई अझै सक्रिय रहनु पर्दछ, तपाइको योगदान अझै अपेक्षकृत छ भन्ने अवस्थामा तपाईहरु, तपाईको पुस्ता र भावी पुस्ताको नेतृत्वको विकास कसरी गर्नु होला आम चासोको विषय रहेको छ । 

समसाययिक विश्व सवालः
एक्काइसौ शताव्दी एशियाको शताव्दीको रुपमा लिने गरिन्छ । अवसरसंगै चुनौतीका पहाडहरुको सामना विश्वले गरिरहेको छ । जलवायु परिवर्तन, आतंकबाद, अवैध व्यापार, मानव वेचविखन देखि गरिवी र भोकमरीका तमाम समस्याबाट विश्व त्रसित रहेको छ । नेपाल जस्तो गरिव देशको तर्फबाट यी सवालहरु विश्व मंचमा सशक्त ढंगले प्रस्तुत गर्ने, भूपरिवेष्ठित तथा कम विकसित मुलुकका हैसियतले पाउने अधिकारहरुको उपयोग कसरी गर्ने भन्ने विषयलाई तत्काल संवोधन नगर्ने हो भने आन्तरिक तथा वाह्य चुनौतीको सामना गर्न सकिदैन । यी र यस्ता विश्व शासनमा देखिएका सवालहरुका सम्वन्धमा नेपालको राजनीतिक नेतृत्व के ठान्दो हो जान्न चाहने नेपालीको संख्या ठूलो रहेको छ ।

गैरआवासीय नेपालीः
देश विकासका लागि गैर आवासीय नागरिकको महत्वपूर्ण भूमिका रहने कुरा विश्व अनुभवबाट सिद्ध भैसकेको विषय हो । छिमेकी देश भारत कै उदाहरण हेरे पनि काफि हुन्छ । गैर आवासीय नेपालीहरुको ज्ञान, सीप तथा पूजीको प्रयोग राष्ट्र हितमा कसरी लगाउने भन्ने विषयमा प्रवेश गर्नु पूर्व राज्यप्रति उनीहरुको विश्वास कसरी आर्जन गर्ने भन्ने विषयको संवोधन हुन जरुरी छ । नेपाल र नेपालीको हितमा काम गर्न चाहंदा चाहदैं पनि गर्न नपाएको÷नसकेको अवस्थाको निराकरण कसरी गर्ने, गैरआवासीय नेपालीहरु प्रति तपाइहरुको दृष्टिकोण के हो ? गैर आवासीय नेपालहरुको संगठन प्रति राज्यको अधिकार, कर्तव्य र दायित्वको सीमा निर्धारण कसरी गर्ने ? कि सधै हस्तक्षेपकारी नीतिमै रमाउने भन्ने जिज्ञासाको जवाफ विश्वभर फैलिएर रहेका नेपालीहरुले खोजिरहेको देखिन्छ । 

बाहिर रहेका नेपालीलाई मतदान अधिकारः
स्वइच्छाले तथा नेपालको विद्यमान अवस्थाका कारण नचाहंदा नचाहंदै पनि विदेशी भूमिका पसिना बगाउन वाध्य नेपालीहरुले आफूलाई शासन गर्ने प्रतिनिधि छान्न पाउने अधिकार अर्थात मतदानको अधिकार नपाएसम्म वास्तविक जनप्रतिनिधिको छनोट हुन नसक्ने विषयमा हजुरहरु प्रष्ट नै हुनुहुन्छ । हातमुख जोर्नकै लागि विदेश भासिन नपरोस भन्नाको खातिर उपुक्त प्रतिनिधि छान्न पाउने अधिकारको सुनिश्चितता कसरी गर्ने ? पचास लाख बढी युवा मतदानको अधिकार बाहिरै राखेर कसरी तपाइहरु आफूलाई आम युवाहरुको ढुकढुकी वनाउन सक्नुहोला ? विषय सुन्दा सामान्य लाग्दछ तर यसको गहिराई कसरी नाप्ने त ?

खर्चिलो निर्वाचनः
इमानदार र कर्तव्य निष्ठ राजनितिज्ञ जोसंग लाखौं वा करोडौंमा चुनावका लागि खर्च प्रवन्ध गर्ने सामथ्र्य छैन उ निर्वाचनमा उमेदवार हुने आंट नै गर्दैन । खर्चिलो र अपारदर्शी निर्वाचन प्रणालीले अनौपचारिक अर्थतन्त्रलाई मलजल गरेको ठानिन्छ । यो कुरा महामन्त्रीद्धयले व्यहोरेकै विषय पनि हो । यस्तो अवस्थाको निराकरणको लागि निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरिनु पर्ने बहस पनि चलेको देखिन्छ । निश्चित मापदण्डका आधारमा राज्यले नै खर्च उपलव्ध गराउने विकल्प पनि देखिन्छ । तसर्थ निर्वाचनलाई मितव्ययी र पारदर्शी वनाउन पुरानो दलको नयां नेतृत्वको हैसियतले के योजना बनाउनु भएको छ ? निर्वाचनको मुखमा रहेका आम मतदाताको चासो र सरोकार देखिन्छ । 

सुशासनः
 माथि उल्लेख गरिएका विषयहरु सुशासनको अवस्था राम्रो नभएकै कारण आएका हुन । सार्वजनिक क्षेत्रका कार्यहरु निजी तथा सरकार इतरका पात्रहरुबाट गर्ने क्रम बढ्दो छ । खास गरी उदारिकरणको अवधारणसंगै यस्तोक्रम बढीरहेको देखिन्छ । हामी सुशासनको खोजि वा कल्पना केवल सार्वजनिक क्षेत्रमा मात्र गरिरहेका÷खोजिरहेका छौं । कानूनको शासन, मानव अधिकारको संरक्षण, समावेशी विकास हाम्रो सरोकारको विषय वन्न सक्नु पर्दछ । भ्रष्टाचार विरुद्ध शुन्य सहाशीलताको नीति वाहिर कोहि नदेखिने तर भ्रष्टाचार र अनियमितताको ग्राफ उकालो चढ्ने अवस्थाको अन्त गर्ने कस्तो योजना अगााडी सार्नु हुन्छ त्यसले नै हजुरहरुको भविष्य आंकलन गर्न सकिएला कि ।

अन्तमा, 
राज्यका प्रमुख तीन अंग मध्ये सार्वभौम संसद २०४८ को आम निर्वाचन देखि नै कार्यमूलक वन्न सकिरहेको छैन, न्यायालयको हविगत अहिले आएर घामजस्तै छर्लङ्ग भएको छ । कार्यपालिका न्यायालय र संसदलाई कसरी नियन्त्रणमा राख्न सकिएला भनेर बुटीको खोजिमा रमाइरहेको देखिन्छ । नागरिक समाज नागरिक समाजका चरित्र वोक्न असमर्थ भैरहेको छ । निजी क्षेत्र नाफाकै गोलचक्करमा रमाउदैछ । सहकारी क्षेत्रको हविगत हेर्न नेपाल प्रहरीको भर्खरैको अनसन्धानको निष्कर्ष मात्र हेरिदिए पुग्छ । आम नागरिक कर्तव्य विनाको अधिकारको प्यासमा छटपटाइरेहको देखिन्छ  । विद्यार्थीका हात कापी कलममा भन्दा इटा, लाठी अनि दलका झण्डा समाउन चिलाइरहेको देखिन्छ । यस्ता समस्याहरु सवै क्षेत्रमा देखिन्छन जसको संवोधन गर्ने जिम्मेवारी यो वा त्यो दको भन्दा पनि युवाहरुको कांधमा आएको छ । यसमा तपाईहरु तथा तपाईहरुजस्तै आम युवा नेताहरुको ध्यान अवस्य जानेछ ।

प्रकाश शर्मा ढकाल
बागलुङ न.पा. १२ अमलाचौर