२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोईराला निवास पुगेर गगनले भने– ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ’



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोदनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताउनुभएको छ ।

शनिवार विराटनगरको कोईरालानिवास पुग्नुभएका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताउनुभएको हो ।

भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उहाँले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उहाँको आरोप छ ।

भदौ २४ गतेपनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उहाँले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाउनु भयो ।

उहाँका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो । तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उहाँले यो स्वीकार्य नभएको बताउनुभयो । उहाँले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाव किताव हुन अझै बाँकी छ । भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठूलो दोष थियो र त्यही भएर त्यो माथि अनुसन्धान भएको छ । अनुसन्धान उपर कार्बाहीका प्रक्रियाहरू अगाडि बढेका छन् ।

नेपाली कांग्रेस पार्टीले जहिले पनि यो बिषयका सन्दर्भमा साथ र समर्थन नै आफ्नो प्रकट गरेको छ । तर २४ गतेको सन्दर्भमा भने कोइराला निवास देखि चाक्सीवारी सम्म, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठूलो क्षति र त्यस सँगसँगै त्यस दिनपनि थुप्रै तन्नेरीहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन् ।

यसको बारेमा सबैले मौनता साँधेको जस्तो भएको छ । हामीले नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन लगत्तैपछिको बैठकमा पहिलो बैठकमा र लगातार त्यसपछि दोहोराइ रहेका छौ र आज फेरि यहाँबाट पनि दोहोराउन चाहन्छु । सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु ।

तपाईहरूले आफ्नो सय दिनको कार्यक्रम सार्वजनिक गरिरहँदा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हामी भदौ २४ गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौ । तर अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन । त्यसैले भदौ २४ का सन्दर्भमा तत्काल एउटा न्यायिक छानबिन आयोग बन्नुपर्छ । त्यो दिन जसले उपद्रो गरेका हुन, जसले आतंक मच्चाएका हुन, उनीहरू कानुनको कठघरामा आउनु पर्छ ।’

सभापति थापाले मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजानिक गर्न माग गर्नुभयो । उहाँले आयोगले तत्काल प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदन सार्वजानिक नगर्न र सच्याउन सरकारले आयोगलाई दबाब दिएको पनि आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानवअधिकार आयोगको प्रतिवेदन जानी जानी लुकाईएको छ । आयोगमाथी ठुलो दबाब सिर्जना गरिएको छ, त्यो प्रतिवेदनमा भएको कुरालाई सार्वजानिक नगर्नको लागी र सच्याउनको लागी भन्ने हामीले महसुस गरेका छोँ । यदी हाम्रो कुरा गलत हो भने तत्काल प्रतिवेदन सार्वजानिक होस् ।’

उहाँले संविधान अनुसार सरकार चल्नुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेकोले सरकारले पनि प्रतिपक्षीको आवाजलाई सुन्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रियसभामा प्रतिपक्षी दलहरुले चाहेको भए सरकारको निति तथा कार्यक्रम अस्वीकृत हुने थियो । तर काँग्रेसले सरकारको निति तथा कार्यक्रममा विमती हुँदाहुँदै पनि पारित गरेर सहयोग गरेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल