२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौंमा पनि फिल्म महोत्सव हुने



अ+ अ-

काठमाडौं।  काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभएको छ ।

फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उहाँले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिवार विमानस्थलमा यसबारे जानकारी गराउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौं महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौं फिल्म फेस्टिभलका लागि आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उहाँले बताउनु भयो । यस पटकको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको बताउनु भयो । उक्त विधामा निर्देशक अविनाशविक्रम शाहको टिमले निर्माण गरेको चलचित्रले जुरी प्राइज जित्न सफल भएकोमा उहाँले बधाई ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिर्जनशील क्षेत्रलाई ‘वान टाइम प्रोग्राम’ मात्र नभई संस्थागत स्वरूप दिन हामीले नीतिगत छलफल अगाडि बढाएका छौँ । भ्रमणका क्रममा विभिन्न शहरका प्रतिनिधिहरूसँगको भेटमा काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्न लागेको जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभएको छ । फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान  दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो ।’

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डंगोलले नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना प्रयोग गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाले आगामी फिल्म महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न छुट्टै टोली परिचालन गरेको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको छ । महोत्सवलाई काठमाडौंको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवद्र्धन गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणबाट काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल