२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम



अ+ अ-

खोटाङ। नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरूलाई सहभागी गराएर ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँचदिने तालिम सुरु गरेको छ ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आजदेखि जेठ ९ गतेसम्म पाँचदिने पत्रकारिता तालिमको आयोजना गरेको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै ‘डिजिटल’ पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरू औपचारिकतामा सीमित भयौँ ।

समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरू हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरूको आवाज बुलन्द गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

दिक्तेल बजारस्थित होटल शुभदिनमा सुरु गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता पत्रकार महासङ्घ खोटाङका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षद्वय सुरेश आचार्य र शिव गाउँलेले खोज पत्रकारिता तथा विकास कार्कीले मल्टिमिडियाका बारेमा सहजीकरण गरिरहनुभएको छ ।

पाँचदिने पत्रकारिता तालिमको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गर्नुभएको छ । पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा जिल्लास्थित पत्रकारहरूको विभिन्न पेसागत सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । “पत्रकार समाजका पहरेदार हुन् ।

हामीले गरेका राम्रा तथा नराम्रा सबै विषय समाजमा पुर्‍याउनु पत्रकारको धर्म हो,” उहाँले भन्नुभयो, “एउटा जनप्रतिनिधिले गरेका राम्रो कामले अरूलाई प्रशय मिल्छ । नराम्रा कुराले दण्डित गर्न सहयोग मिल्छ । त्यसैले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउन सबै पत्रकारहरूलाई आग्रह गर्छु ।”

पत्रकारिता तालिममा छापा, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ । नेपालमा डिजिटल युग सुरु भएको अवस्थामा नेपाल पत्रकार महासङ्घ खोटाङले मल्टिमिडियासम्बन्धी तालिमको आयोजना गरेकाले आफूहरू उत्साहित बनेको सहभागी पत्रकारहरूले बताएका छन् । रासस