१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुवागाउँमा भेडा जुधाएर बहादुरी



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ ।

बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५/३० हजार भइहाल्छ ।”

डुडुवा गाउँपालिका–४ बाट भेडा जुधाउन आउनुभएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने”, यादवले भन्नुभयो, “लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”

उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु २० हजार पर्दछ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माकोे भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउनुहुन्छ । केही सौैखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिकरूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । “२०–२२ पुग्ला भनेको त्यो पनि भएन, यो वर्ष धेरै रमाइलो हुन सकेन”, छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भन्नुभयो, “भेडा पाल्न सबैले छोडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौँ ।”

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढाटाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारणसमेत खिन्न हुनपुगे ।

धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आउनुभएका खजूरा गाउँपालिका–३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकोमा पछुतो लागेको बताउनुभयो । “म साँझपख पुगेँ, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ”, सापकोटाले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुग्नुभएका शालिकराम प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ । यो वर्ष थोरै सहभागी भएकोले धेरैले हेर्न नपाएको उहाँले बताउनुभयो ।

अन्य वर्षको तुलनामा यसपटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताउनुभयो । मेला शुरु भएदेखिनै भेडा जुधाउने खेल हुँदैआएको उहाँले उल्लेख गर्नुभयो ।

गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखिनै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो”, अहिरले भन्नुभयो, “तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएको छ ।”