२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भनेः मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्



अ+ अ-
काठमाडौं । निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण देखिएको समस्या समाधानका लागि सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत आवश्यक गृहकार्य अघि बढाएको जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोरा ले निर्माण व्यवसायीहरूले काम रोकेर बुझाएको ज्ञापनपत्रपछि समस्या समाधानको प्रक्रिया धेरै अघि बढिसकेको भन्दै ढुक्क भएर काममा फर्किन आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार विकास निर्माणसँग सम्बन्धित विभागका महानिर्देशकहरूलाई विभिन्न मोडेलमार्फत समस्या समाधानका उपायसहित प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको थियो । सोहीअनुसार खरिद ऐन तथा नियमावलीभित्र रहेर मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सकिने सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकिएको छ ।

महानिर्देशक बोहोराले उक्त प्रतिवेदन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर छलफल भइसकेपछि कानुन मन्त्रालयमार्फत प्रस्ताव अघि बढ्ने बताउनुभयो । उहाँले विगतमा कोरोना महामारीका बेला तथा सुरुङमार्ग निर्माणका क्रममा पनि ‘बाधा–अड्काउ फुकाउने’ अभ्यास भएको उल्लेख गर्दै अहिले पनि सरकारले चाहेमा सोही प्रक्रियाबाट समाधान निकाल्न सक्ने बताउनुभयो ।

उहाँले सरकारले समस्या समाधानका लागि आवश्यक गृहकार्य तीव्र रूपमा अघि बढाएको र यो हप्ताभित्रै त्यस दिशामा ठोस निर्णय हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालय र विज्ञहरूको सुझावसमेत समेटेर निर्माण व्यवसायीले सहज रूपमा काम गर्न सक्ने गरी मूल्य समायोजनसम्बन्धी प्रतिवेदन तयार गरिएको उहाँको भनाइ छ ।

महानिर्देशक बोहोराका अनुसार बिटुमिन प्रयोग हुने सडक आयोजनामा बढी असर परेको भए पनि डन्डी र सिमेन्टको मूल्य अत्यधिक नबढेकाले अन्य निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प भने नभएको बताउनुभयो ।

उहाँले मूल्य समायोजनको समस्या समाधान भएपछि म्याद थपका विषयमा पनि सहजता आउने र निर्माण व्यवसायीले कामलाई गति दिने अपेक्षा सरकारको रहेको उल्लेख गर्नुभयो ।

यता, ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायीहरूले भने अहिलेको अवस्थामा काम गर्दा ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने र घरखेत नै जाने अवस्था सिर्जना भएकाले तत्काल काममा फर्किन सक्ने अवस्था नरहेको बताएका छन् ।