काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्राजिलियामा भेटवार्ता भएको छ । उनीहरुबीच ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा भेटवार्ता भएको हो । बीबीसीले लेखेको अनुसार भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेष जोड दिइएको छ ।
यसबारे दुई देशका अधिकारीहरुको संयुक्त बैठक बस्ने पनि भनिएको छ । उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन ।
आजभन्दा पाँच वर्ष अगाडि पनि सी र मोदीबीच ब्राजिलमै भेटवार्ता भएको थियो । ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको मोदीले उल्लेख गरेका छन् । हालै सीले भारतको भ्रमण गरेका थिए । भारत हुँदै नेपाल आएका सी दुई दिन काठमाडौंमा पनि बसेर स्वदेश फर्किएका थिए ।