५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य उपकरण खरिदमै करोडौँ खर्च, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पतालसम्म मेसिन प्रयोगविहीन



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य क्षेत्रमा खरिद गरिएका महँगा उपकरणहरू दक्ष जनशक्ति अभाव, कमजोर व्यवस्थापन र अपर्याप्त उपयोग नीतिका कारण वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा रु.५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा आउन सकेको छैन। त्यस्तै रु.२४ करोड ७७ लाख ९ हजार मूल्यका सीटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर तथा ५ थान सी–आर्म मेसिन पनि लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेका छन्।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रु.७२ लाख ६० हजार मूल्यका ५ थान लिड ईसीजी केबल र ३०० सेट उपकरण प्रयोगमा नआएको उल्लेख गरिएको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा रु.४ करोड ९० लाख ९५ हजार बराबरका एक्स–रे मेसिन, इण्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोग्राफीसम्बन्धी उपकरण पनि लामो समयदेखि थन्किएर रहेका छन्।

त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिमा सिङ्गल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर, रोटरी रनर खल, अटोमेटिक क्याप्सुल फिलिङ तथा पाउडर फिलिङ मेसिनसहित करिब ६० प्रकारका उपकरण प्रयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरी अस्पतालमा समेत १६ स्लाइस सीटी स्क्यान मेसिन र १.५ टेस्लाको एमआरआई मेसिन प्रयोगमा नआएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले स्वास्थ्य सेवा विभागले चालु वर्षमा ९६५ हाइट बोर्ड र ९६५ थान इलेक्ट्रोनिक वेट स्केल खरिदमा रु.६ करोड ७३ लाख २१ हजार खर्च गरेको भए पनि विगतमा खरिद गरिएका रु.६ करोड ५३ लाख ९९ हजार मूल्यका १ हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल तथा रु.२ करोड ४२ लाख ५४ हजारका १३३ थान विभिन्न प्रकारका उपकरणसमेत उपयोगविहीन रहेको जनाएको छ।

त्यसैगरी बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन पछिल्ला चार वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा बङ्करमा थन्किएको छ। मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको भए पनि विकिरण जोखिम कायम रहेको चेतावनीसमेत प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन अवस्थाबारे नियमित अनुगमन गर्न, प्रभावकारी उपयोग सुनिश्चित गर्न तथा प्रयोगविहीन उपकरणको व्यवस्थापनका लागि तत्काल कदम चाल्न सुझाव दिएको छ।

यसरी करोडौँ रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण उपयोगमा नआउँदा सार्वजनिक स्रोतको ठूलो दुरुपयोग भएको प्रतिवेदनको निष्कर्ष छ।




भर्खरै