काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच आज स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा नेपाल र भारत बीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जवाफमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग र सद्भावप्रति आभार व्यक्त गरेकी थिइन्।
भेटका क्रममा नेपालका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोगलाई थप प्रभावकारी र विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।










