२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

लगानी प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको सुझाव

लगानी प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको सुझाव
अ अ+ अ-

लगानी प्रवर्द्धनका लागि बजेटमार्फत नीतिगत सुधार गर्न नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले सरकारलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव दिँदै चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले उद्योग, लगानी, स्टार्टअप, कर प्रशासन, बैंकिङ सुधार तथा वैकल्पिक लगानी प्रणालीमा सुधार गर्ने गरी बजेट ल्याउन भनेको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संस्थाका अध्यक्ष निलबहादुर सारुले बुझाएको सुझावमा  नेपालको औद्योगिक तथा उत्पादन क्षेत्र संरचनात्मक असमानता, उच्च उत्पादन लागत, कमजोर पूर्वाधार र नीतिगत अस्पष्टताका कारण प्रतिष्पर्धात्मकता गुमाउँदै गएको निष्कर्ष निकालिएको छ ।

संस्थाकाअनुसार ठूला पूर्वाधार आयोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता नदिइनु, कच्चा पदार्थमा कर लाग्दा आयातित सामग्रीमा सहुलियत दिइनु तथा ऊर्जा, यातायात र प्रशासनिक सहजीकरण कमजोर हुँदा नेपाली उत्पादनको लागत करिव ३० प्रतिशतसम्म बढी परेको अवस्था छ । यसले औद्योगिक उत्पादन तथा निर्यात क्षमतामा प्रत्यक्ष असर पारेको  छ । यसलाई सम्बोधन गर्नेगरी बजेट ल्याउन सुझाएको छ ।

त्यस्तै, भन्सार तथा नियमन प्रणाली कमजोर हुँदा अवैध आयात–निर्यात र राजश्व चुहावट बढेको, उद्योग दर्ता, लाइसेन्स तथा स्वीकृति प्रक्रिया जटिल हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको उल्लेख गरिएको छ । संस्थाले विशेषगरी आयकर ऐन, २०५८ को दफा ५७ ले रुग्ण उद्योग पुनर्संरचना र लगानी प्रवाहमा अवरोध सिर्जना गरेको भन्दै संशोधन गर्न सुझाव दिइएको छ ।

सूक्ष्म, साना तथा मझौला उद्यम सम्बन्धी विभिन्न कानून र नीतिमा रहेको परिभाषागत असंगति हटाई स्थिर पूँजी, कारोबार, रोजगारी र वित्त व्यवस्थापनका आधारमा एकीकृत कानूनी परिभाषा बनाउन संस्थाले सरकारलाई सुझाव दिएको छ । साथै, नेपाल राष्ट्र बैंक मार्फत प्राथमिकता क्षेत्र कर्जा नीति लागू गरी बैंकहरूलाई साना मझौला क्षेत्रमा न्युनतम कर्जा प्रवाह अनिवार्य गर्न आग्रह गरिएको छ ।

बिना धितो कर्जा पहुँच विस्तारका लागि कर्जा ग्यारेन्टी कोष विस्तार, उद्योग दर्ता, कर सुविधा, अनुदान र कर्जालाई ‘एकद्वार प्रणाली’ मार्फत सञ्चालन गर्नुपर्ने सुझाव पनि संस्थाले दिएको छ । प्रारम्भिक वर्षमा स्टार्टअप र साना उद्यमलाई कर छुट तथा सरलीकृत कर अनुपालन व्यवस्था लागू गर्नुपर्नेमा पनि जोड दिइएको छ । हालको धितो आधारित ऋण प्रणालीलाई परियोजनाको सम्भाव्यता, भविष्यको नगद प्रवाह र व्यवसायिक क्षमतामा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने संस्थाको सुझाव छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले स्वतन्त्र प्राविधिक तथा वित्तीय मूल्यांकन गर्नुपर्ने र नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था अन्तर्गतका विज्ञलाई ‘प्रोजेक्ट अडिटर/फाइनान्सियल एनालिस्ट’ का रूपमा अनिवार्य संलग्न गराउनुपर्ने प्रश्ताव गरिएको छ ।

सरकारले जोखिम बाँडफाँड कार्यक्रम, कर्जा ग्यारेन्टी कोष तथा डिजिटल अनुगमन प्रणाली लागू गर्नुपर्ने सुझाव पनि पेश गरिएको छ ।

संस्थाले नेपालमा स्टार्टअप इकोसिस्टम विश्वव्यापी प्रवृत्तिभन्दा १५–२० वर्ष पछाडि रहेको उल्लेख गर्दै हालको ५ वर्षे कर छुट व्यवहारिक रूपमा प्रभावकारी नभएको जनाएको छ । अधिकांश स्टार्टअपले प्रारम्भिक चरणमा नाफा कमाउन नसक्ने भएकाले कर छुटको लाभ उपयोग गर्न नसकेको संस्थाको भनाइ छ ।

यसैगरी, स्टार्टअपमा लगानीकर्ता परिवर्तन वा शेयर हस्तान्तरण हुँदा आयकर ऐन, २०५८ को दफा ५७ लागू हुने व्यवस्थाले लगानी आकर्षणमा अवरोध गरेको भन्दै स्टार्टअपलाई विशेष सहुलियत दिनुपर्ने माग गरिएको छ ।

संस्थाले सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा ‘समपूरक कोष’ स्थापना गरी योग्य प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्डमार्फत स्टार्टअप क्षेत्रमा लगानी प्रवाह गर्नुपर्ने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक को समन्वयमा स्पष्ट कानूनी संरचना बनाएर पीइभीसी सञ्चालन, निगरानी तथा सह–लगानी मोडेल लागू गर्न सरकारलाई सुझाव दिएको छ ।

नेपालमा क्राउडफन्डिङ, एन्जल इनभेस्टर र वैकल्पिक लगानी संरचनालाई कानूनी मान्यता दिनुपर्ने तथा एन्जल लगानीकर्तालाई आयकर तथा पूँजीगत लाभ कर छुट दिन आयकर ऐन संशोधन गर्नुपर्ने सुझाव पनि पेश गरिएको छ । स्टार्टअपमा १० लाख रुपैयाँसम्म बीउ पूँजी लगानी गरेमा पाँच वर्षभित्र खर्च कट्टी सुविधा दिनुपर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत छुट्टै ‘नवप्रवर्तन तथा स्टार्टअप सेल’ स्थापना गरी स्टार्टअप प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । साथै, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र क्रिप्टोसम्बन्धी नीति अध्ययन तथा नियमनका लागि विशेषज्ञसहितको विशेष इकाई गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले दोहोरो कर मुक्ति सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक राजस्व विभाग अन्तर्गत छुट्टै इकाई स्थापना गर्नुपर्ने सुझाव दिएको छ । हस्तान्तरण मूल्य, डिजिटल सेवा कर तथा अन्तर्राष्ट्रिय कर प्रशासन व्यवस्थापनका लागि पनि विशेष प्रशासनिक संरचना आवश्यक रहेको उल्लेख गरिएको छ ।

विदेशी लगानीकर्ताका लागि प्राथमिकता प्राप्त न्यायिक प्रणाली, पूर्वाधार बन्ड जारी तथा त्यस्ता बन्डमा कर छुट दिनुपर्ने सुझाव पनि संस्थाले सरकारसमक्ष राखेको छ ।

स्टार्टअपले विभिन्न चरणमा उठाएको लगानीबाट प्राप्त शेयर प्रिमियम रकम बोनस शेयरका रूपमा वितरण गर्दा कर नलाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, स्वेट इक्विटी प्राप्त गर्ने व्यक्तिलाई शेयर विक्री गरेपछि मात्र कर लाग्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ । संस्थाले स्टार्टअपले व्यापारिक कारोबार शुरु गरेपछि मात्र कर छुट लागू हुनेगरी कानून संशोधन गर्नुपर्ने उल्लेख गर्दै नवप्रवर्तन, रोजगारी र उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि लगानीमैत्री तथा प्रविधिमैत्री नीति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।