काठमाडौं। बार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ ।
शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको निर्णायक ‘एल क्लासिको’ भिडन्तमा जित निकाल्दै बार्सिलोना २९औँ पटक लिग च्याम्पियन बनेको हो ।
घरेलु दर्शकमाझ प्रभावशाली प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफको सुरुवाती १८ मिनेटभित्रै दुई गोल गर्दै जितको आधार तय गरेको थियो ।
खेलको ९औँ मिनेटमा म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कस रासफोर्डले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
रासफोर्डको गोल लगत्तै १८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस सिजनको उपाधि भिडन्तमा बार्सिलोना पूर्ण रूपमा हाबी देखियो ।
यो जित बार्सिलोनाका लागि दुई कारणले ऐतिहासिक बनेको छ । पहिलो, टोलीले आफ्नो २९औँ ला लिगा उपाधि उचाल्न सफल भयो । दोस्रो, बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा रियल म्याड्रिड विरुद्ध लगातार १८औँ ‘एल क्लासिको’ जित्ने दुर्लभ कीर्तिमान समेत कायम गरेको छ ।











