२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानका आधारभुत स्तम्भमाथि प्रहार हुनेगरी संशोधन नगर्न नेता ज्ञवालीको चेतावनी



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्न नहुने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको भन्दै संशोधन प्रक्रियामा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएकोहो ।

नेता ज्ञवालीले प्रतिनिधि सभाको वर्तमान अंकगणितले संविधान निर्माण गर्ने मुख्य दलहरूको सामथ्र्य कमजोर भएको उल्लेख गर्नुभयो ।

सरकारको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन लागेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले मौलिक हक, ट्रेड युनियन अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको आरोप लगाउनु भयो । ज्ञवालीले राज्यका अंगहरू, विशेष गरी न्यायपालिकामाथि राजनीतिक नियन्त्रण बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संवैधानिक परिषद्को मर्मविपरीत प्रधानमन्त्रीको इच्छाअनुसार प्रधानन्यायाधीश नियुक्त हुने स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि घातक हुने उहाँको तर्क छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहसका सन्दर्भमा ज्ञवालीले नेपाल जस्तो भूराजनीतिक अवस्थिति भएको मुलुकमा यो व्यवस्था हानिकारक हुने दाबी गर्नुभयो ।

नियन्त्रण र सन्तुलन बिनाको प्रत्यक्ष निर्वाचित कार्यकारीले अधिनायकवाद जन्माउने र राष्ट्रियतामाथि नै संकट निम्त्याउन सक्ने उहाँको भनाइ छ । उहाँले अहिलेकै संसदीय व्यवस्थालाई थप परिमार्जित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान निर्माण गर्ने मुख्य तीन दलको प्रतिनिधि सभामा उपस्थित संख्या जम्मा ७९ छ । यस्तो अवस्थामा प्रतिकूल संविधान संशोधनलाई रोक्न सक्ने सामथ्र्य पनि खस्किएको छ । स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्न खोजिएको छ भने सामाजिक सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ । मैले कतै सुन्दै थिएँ, प्रधानमन्त्रीज्यूले हिटलरको ‘म्यानेजरियल स्किल’ सिक्ने र समाजलाई एउटै सोचमा ढाल्ने इच्छा व्यक्त गर्नुभएको छ । बहुलवादी र विविधतायुक्त समाजमा यस्तो सोच राख्नु आपत्तिजनक छ ।’

संविधानलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गर्दै ज्ञवालीले आफूहरु संशोधनको विरुद्धमा नरहेको तर सत्तारूढ दलले संविधानका आधारभूत पिलरहरू—गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय र समावेशिताका बारेमा आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

उहाँले संविधान संशोधनको प्रक्रिया विश्वसनीय हुनुपर्ने र यसका लागि हिजो संविधान निर्माण गर्ने शक्तिहरू निरन्तर संवादमा रहनुपर्ने उल्लेख गर्नुभयो । संख्याको बलमा उपलब्धिहरू खोसिन नदिन गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँको जोड छ । —न्युज एजेन्सी नेपाल