२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव



अ+ अ-

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।

लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताउनुभयो ।

“गाउँपालिकाका धेरै भीरमा मौरी पाइन्छन्, लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा स्थानीय समुदायले उपभोग गर्दै आएका रैथाने खाना प्रयोग गरिन्छ । फेदीको तेरावा क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा पर्यटकको सहभागिता रहनेछ ।”

जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केपिलासगढी गाउँपालिका–१ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको एक दर्जनभन्दा बढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ  । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीय लक्ष्मण साम्पाङले बताउनुभयो ।

फेदीका स्थानीयले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिना गरी वर्षमा दुईपटक भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् । फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार गर्दै आइएको स्थानीय मह सिकारी हस्तराम राईले बताउनुभएको छ ।

“मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्ता यसमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।” मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायतका सामग्रीको सहयोगमा परम्परागतरुपमा भीर मौरीको मह सिकार गरिन्छ  ।

प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ । स्थानीय भाषामा भीरमा गएर मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ । प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भनिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायतका क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुरलगायतका देशहरुमा निर्यात हुने गरेको छ ।