२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्ना पक्षका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति थापाले प्रधानमन्त्री साहले सो उद्देश्य पूरा गर्न संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको जिकिर गरेका हुन्। संसदको अधिवेशन आह्वान गर्ने र बन्द गर्ने प्रक्रिया समेत यही रणनीतिका लागि रचिएको प्रपञ्च भएको उनको भनाइ छ ।

थापाले संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेको आरोप पनि लगाए । प्रधानमन्त्रीले आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास अस्वीकार्य हुने भन्दै उहाँले कडा आपत्ति जनाए ।

उहाँका अनुसार बिहीबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । उक्त बैठकमार्फत बहुमतको आधारमा आफूले चाहेको नाम पारित गराउने तयारी भइरहेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको उपस्थितिमा बहुमत पुर्‍याएर निर्णय गराउने प्रयास भइरहेको भन्दै उहाँले यसलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदम बताए ।

थापाले विगतमा पनि यस्तै प्रकारको प्रयास भएको स्मरण गर्दै अहिलेको कदम पनि त्यही शैलीको दोहोरिएको अभ्यास भएको टिप्पणी गरे । यस विषयमा नेपाली काँग्रेसको असहमति रहेको र संसदभित्र पनि यो मुद्दा उठाइने उनले स्पष्ट पारे ।