८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोर र माडीलाई छिट्टै अगाडि बढाइने



अ+ अ-

काठमाडौँ । सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका बीचमा ती आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आज आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका नेपालका लागि चीनका राजदूत होऊ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रपतिको राजकीय भ्रमणका क्रममा भएको समझदारीअनुसार आयोजनाको काम शुरु हुने बताउनुभयो ।

मन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युत्को क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । उहाँले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत दिनुभयो । सो आयोजनाको प्रमुख निर्माण कम्पनीका रुपमा चिनियाँ कम्पनी गेजुवा रहेको थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्शन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया शुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतलाई आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताको सङ्ख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्णरुपमा सहजीकरण गरिरहेको बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत यान्छीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारसँग सहकार्यका लागि इच्छुक रहेको बताउनुभयो । उहाँले चिनियाँ कामदारले व्यहोरिरहेको प्रवेशाज्ञाको समस्या, नीतिगत, बिजुलीको महसुल दरजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । साथै ऊर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिति चाँडै टुङ्गो लगाउने जानकारी दिनुभयो ।

चिनियाँ राजदूतले मन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राख्नुभयो । “चीनबाट गभर्नर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत् र ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ”, राजदूत यान्छीले भेटमा भन्नुभयो ।