२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजनीको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्।

उनले जेन–जी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताए। तर राज्यले युवाको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा दमनको बाटो रोजेको र त्यसपछि आन्दोलनमा संदिग्ध तत्वको घुसपैठ भएको उनको दाबी छ।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक र निजी सम्पत्तिमा लुटपाट, आगजनी तथा विध्वंस भएको उल्लेख गरेका छन्।

उनका अनुसार युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने कार्यलाई एउटै दृष्टिले हेर्न नहुने भन्दै घटनाको वास्तविकता छुट्याएर हेर्न आवश्यक छ।
‘जेन–जी विद्रोह’का नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने प्रचण्डको भनाइ छ।

उनले आफ्नो पार्टी न गोली चलाउने पक्षमा रहेको र न सिंहदरबार जलाउने पक्षमा रहेको दाबी गरेका छन्।
प्रचण्डले आन्दोलनका क्रममा को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा र विध्वंस कसले मच्चायो तथा त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको तथ्यपरक जवाफ खोजिनुपर्ने बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। आयोगको प्रतिवेदन दराजमा थन्क्याउने नभई त्यसमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

वक्तव्यमा प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन नभएको भन्दै वर्तमान अवस्थाप्रति पनि असन्तुष्टि जनाएका छन्। महँगी, आर्थिक शिथिलता, बेरोजगारी, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझलगायतका विषयले नागरिकमा पुनः निराशा बढाएको उनको दाबी छ।

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रयासप्रति पनि उनले आपत्ति जनाएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको भन्दै उनले यी उपलब्धि कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने बताएका छन्।

प्रचण्डले लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई थप उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु रहेको बताएका छन्। उनले यस प्रक्रियालाई ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएका छन्।

आफ्नो पार्टीले विगतका अभ्यासबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता पनि उनले जनाएका छन्। साथै संविधान र लोकतान्त्रिक अधिकारको रक्षा गर्दै प्रतिगामी तथा निरंकुश प्रवृत्तिविरुद्ध राजनीतिक शक्ति, युवा, नागरिक समाज र आम नेपालीलाई एकताबद्ध हुन अपिल गरेका छन्।