काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सुकुम्वासी र भूमिहीनका समस्या समाधानका नाममा सरकारले अपनाएको ‘डोजर तन्त्र’ प्रति गम्भीर आपत्ति जनाउनुभएको छ। उहाँले यस्तो कार्य मानव अधिकारको दृष्टिकोणले गम्भीर उल्लङ्घन भएको टिप्पणी गर्दै राज्यको व्यवहारप्रति प्रश्न उठाउनुभएको हो।
बैठकमा आफ्नो धारणा राख्दै सांसद सिद्धिकीले नागरिकको बाँच्न पाउने मौलिक हक र संविधानले सुनिश्चित गरेको अधिकारको सम्मान गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो। उहाँले भूमिहीन, दलित, मुस्लिम, मधेसी, कमलरी र हलियाजस्ता समुदायका समस्या समाधान गर्न राज्यले सहज र मानवीय वातावरण अपनाउनुको साटो बल प्रयोगको बाटो रोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
उहाँले विदेशी शरणार्थीलाई समेत संरक्षण दिने मुलुकले आफ्नै नागरिकलाई उचित व्यवस्थापन बिना सडकमा विस्थापित गर्नु विडम्बनापूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो। साथै उहाँले समस्याको दीर्घकालीन समाधानका लागि संवाद र नीतिगत व्यवस्थापन आवश्यक रहेको बताउँदै केवल डोजर चलाएर समस्या समाधान नहुने स्पष्ट पार्नुभयो।
सांसद सिद्धिकीले संसदीय समितिको कार्यक्षेत्र र प्रभावकारिताबारे पनि सुझाव राख्दै मानव अधिकार, बाल संरक्षण, महिला, युवा तथा ज्येष्ठ नागरिकका विषयमा विशेष ध्यान दिन उप–समितिहरू गठन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कारागार र बालगृहमा रहेका बालबालिकाको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै नियमित अनुगमन र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले संसदमा प्रतिपक्षी दलका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। महत्वपूर्ण विधेयकहरूमा पर्याप्त छलफल नभएकोप्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभयो। सरकारले सकारात्मक कार्य गरेमा समर्थन गर्न तयार भए पनि गलत नीतिगत कदमको विरोध जारी रहने उहाँको भनाइ थियो।
त्यस्तै, सांसद सिद्धिकीले सूचना र सञ्चारको गलत प्रयोगले समाजमा नकारात्मक असर परिरहेको भन्दै त्यसको नियमन आवश्यक रहेको धारणा राख्नुभयो। संसदीय उप–समितिहरूको नेतृत्वमा प्रतिपक्षलाई समेत समेट्नुपर्ने सुझाव दिँदै उहाँले लोकतान्त्रिक प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो। उनले राज्यले गरिब र विपन्न वर्गको आवाज बन्नुपर्नेमा उल्टै उनीहरूमाथि नै दमन हुने अवस्था देखिनु दुःखद भएको टिप्पणी गर्नुभयो।











