२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ट्रेड युनियन र लोकतन्त्रको अवस्थाप्रति अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघको चिन्ता



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले नेपालमा मजदुर अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामाथि थप चुनौती उत्पन्न भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका कटनले सरकारको पछिल्लो कार्यशैली र निर्णयहरूले दशकौँको लोकतान्त्रिक उपलब्धि तथा संविधानको मर्ममाथि नै प्रश्न उठाएको टिप्पणी गरे  । उनले सरकारले ट्रेड युनियनहरूलाई कमजोर बनाउने वा ‘एउटै मात्र युनियन’ को अवधारणा अघि सार्ने प्रयासप्रति आपत्ति जनाउँदै यसले मजदुरहरूको संगठन स्वतन्त्रताको अधिकारलाई कमजोर पार्ने बताए।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कटनले मजदुरहरूले स्वेच्छाले संगठन खोल्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै यस विषयमा सरकारलाई आफ्नो धारणा पुनर्विचार गर्न आग्रह गरे। करिब १ करोड ७० लाख यातायात मजदुरको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख कटनले सरकारले अघि बढाउन खोजेको नयाँ कार्यविधिले ट्रेड युनियनहरूको स्वतन्त्र अस्तित्वमाथि प्रहार गरेको उल्लेख गरे।

नेपाललाई उदीयमान अर्थतन्त्र र मेहनती जनशक्तिले भरिएको देशका रूपमा उल्लेख गर्दै उनले सरकारबाट अदालत, संसद र प्रशासनप्रति देखिएको अविश्वासले अन्तर्राष्ट्रिय समुदायलाई समेत चिन्तित बनाएको बताए ।

कटनले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) र ग्लोबल काउन्सिल अफ युनियनको तर्फबाट ऐक्यबद्धता सन्देश ल्याएको जानकारी दिँदै लोकतन्त्रको रक्षा गर्न स्वतन्त्र ट्रेड युनियन अपरिहार्य रहेको स्पष्ट पारे। साथै, नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता, निष्पक्षता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ ।

रोजगारी क्षेत्रमा बढ्दो ‘सब–कन्ट्रयाक्टिङ’ मोडेलप्रति चिन्ता व्यक्त गर्दै कटनले यसले अल्पकालीन रूपमा लागत घटाए पनि दीर्घकालीन रूपमा सामाजिक संरचनामा सकारात्मक योगदान नगर्ने तर्क गरे। उनले दिगो भविष्यका लागि मजदुरहरूलाई सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक र कार्यस्थल सुरक्षाजस्ता आधारभूत सुरक्षा घेराभित्र ल्याउनुपर्नेमा जोड दिए।

खाडी मुलुकहरूमा कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे बोल्दै कटनले कतार, साउदी अरबलगायत देशमा रहेका यातायात मजदुरहरूको अधिकार सुनिश्चित गर्न आईटीएफले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।

नेपालका प्रमुख मजदुर संगठनहरू—जेटीयूसीसी, जिफन्ट, एनटियूसी र एन्टफ—हालको परिस्थितिमा अन्यौलमा रहेको सन्दर्भमा उनले मजदुर नेतृत्वलाई विचलित नहुन सुझाव दिए। जनआक्रोशका कारण सरकार परिवर्तन हुने परिस्थितिमा युनियनहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचनालाई चिर्दै मजदुरको आवाजलाई एकीकृत गरी सरकारसँग संवादमा बस्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

कटनले नेपालको युवा पुस्ताको ऊर्जा अन्तर्राष्ट्रिय मूल्य र सहकार्यतर्फ निर्देशित गर्नुपर्नेमा जोड दिँदै मजदुर आन्दोलन सरकारसँग रचनात्मक संवादका लागि सधैँ तयार रहेको स्पष्ट पारे।