२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्लुङमा ‘एक घर एक धारा’ले फेरियो दैनिकी



फाईल फोटो
अ+ अ-

काठमाडौं । भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् ।

गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा देउरालीखानीमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएको छ ।

योजनाअन्तर्गत देउरालीखानीका ३४ घरधुरी लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय र खोप क्लिनिक गरी ३६ वटा खानेपानीको धारा निर्माण गरिएको हो ।

गोर्खा वेलफेयरको रु ३६ लाख र स्थानीयको रु नौ लाख बराबरको श्रमदान गरी कूल रु ४५ लाख बजेटमा ‘एक घर, एक धारा’ योजना सम्पन्न गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए ।

माझगाउँको शिरमा रहेको छेरछेरे मूलको पानी सङ्कलन गरेर गाउँका घर घरमा वितरण गरिएको छ । योजनाअन्तर्गत दुई हजार लिटरका दुई, चार र पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरिएको छन्त्यालले बताए ।

योजना बनेपछि देउरालीखानीमा पर्याप्त खानेपानीको व्यवस्था भएको अध्यक्ष छन्त्यालको भनाइ थियो । विसं २०५३ मा कादुरी संस्थाले निर्माण गरिदिएको खानेपानी योजनाअन्तर्गत बनेका सामूहिक धाराबाट माझगाउँवासीले पानी उपभोग गर्दै आएका थिए ।

“योजना जीर्ण हुनु र सामूहिक धाराले उपभोक्तालाई असहज थियो, घरघरमा धारा बनेपछि पर्याप्त खानेपानी उपभोग गर्न पाएका छौँ”, समितिका सचिव जमुना छन्त्यालले भने ।

खानेपानीको स्रोत भएर पनि सहज रूपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । घरघरमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुसी भएका छन् । आँगनमै खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र बस्तुभाउलाई खुवाउन निकै सजिलो भएको छन्त्यालले बताए ।

उनले भने, “सबैको घरमा चौबिसै घण्टा फिल्टर गरेको स्वच्छ खानेपानी आउन थालेपछि माझगाउँवासीलाई सुविस्ता भएको छ ।”

जनजातिको बाक्लो बस्ती रहेको देउरालीखानी अर्गानिक गाउँका रूपमा पनि परिचित छ । खानेपानी योजनालाई दिगोपना दिन नगरपालिकाले साथ दिने जैमिनीका नगरप्रमुख हरिहर शर्माले बताए ।

“नागरिकको दुःखमा साथ दिन स्थानीय सरकार सधैँ तत्पर छ”, योजनाको शुभारम्भ शर्माले भने, “सीमित स्रोत र साधनका बाबजुत पनि दुरदराजका जनताका न्यूनतम् आवश्यकता परिपूर्ति गर्न तयार छौँ ।”