२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ विस्तार दोस्रो चरणमा चीनको ११ अर्ब अनुदान, कलंकी–बसुन्धारा सडक निर्माण हुने



अ+ अ-

काठमाडौं ।  काठमाडौंको चक्रपथ विस्तार परियोजनाको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिङबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म करिब ८ दशमलव २ किलोमिटर सडक तथा आवश्यक पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउनेछ।

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ, जसले उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा आउने समस्या छिटो समाधान गर्दै कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो।

उहाँले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा चीन सरकारबाट थप सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

त्यसैगरी, चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा थप लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।