८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर विमानस्थल बन्द



अ+ अ-

भरतपुर । भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

“आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ”, विमानस्थल प्रमुख गौतमले भन्नुभयो, “पार्किङ पनि सुविधायुक्त बनाउँछौँ”, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताउनुभयो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ । हालको ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइनेछ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ तथा बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।