९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरै प्लाष्टिक टनेल



अ+ अ-

सिञ्जा । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन् ।

जुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।

अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । कनकासुन्दरी गाउपालिका–५ लुड्कुका गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताउनुभयो । बुढा विगत केही वर्षबाट गाउँमै बस्दै आउनुभएको छ । “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ । बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्”, उहाँले बताउनुभयो ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले जानकारी दिनुभयो । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा रु १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । सदरमुकाममा अधिकांश तरकारीको भाउ रु १०० देखि १५० छ ।

बुढाले गत वर्ष तरकारी खेतीबाट रु एक लाख बचत गरेको जानकारी दिनुभयो । उहाँले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो । सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उहाँको भनाइ छ । यता सिञ्जा गाउँपालिका–६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गरिरहनुभएको छ । उहाँको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ ।

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उहाँको भनाइ छ । कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताउनुभयो । बुढाले तरकारीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताउनुभयो । नियमितरूपमा घरमा खाने गरेको उहाँको भनाइ छ । केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य रु २५० भन्दा माथि रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ–गाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ ।