काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका भन्ने समाचार असत्य भएको पुष्टि भएको छ । उनी हाल नक्सालस्थित आफ्नै कार्यालयमा सामान्य रूपमा कार्यरत रहेको जनाइएको छ ।
परासीस्थित एक उद्योगको अवलोकनपछि काठमाडौं फर्किएका गोल्छाबारे सामाजिक सञ्जाल तथा केही माध्यममा पक्राउ गरिएको दाबी सार्वजनिक भएपछि भ्रम सिर्जना भएको थियो । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यस्तो कुनै नियन्त्रण वा पक्राउ नभएको स्पष्ट पारेको छ ।
सीआईबीका एक अधिकारीका अनुसार गोल्छा पक्राउ परेको भन्ने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताउँदै ती खबर गलत रहेको जनाएका छन् । यसैबीच, गोल्छा स्वयंले पनि आफू पक्राउ नपरेको स्पष्ट गर्दै कार्यालयमै नियमित कामकाजमा संलग्न रहेको बताएका छन् ।











