१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की



अ+ अ-

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको तीव्र विकास अपरिहार्य रहेको बताएका छन् ।

सांसदहरूसँग भएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासबिना अन्य कुनै पनि क्षेत्रको समग्र विकास सम्भव नरहेको उल्लेख गरे । उनले जलविद्युत् आयोजनाहरू निर्माणमा देखिएका नीतिगत तथा संरचनागत अवरोधहरू हटाउन सरकार र संसदको ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानको आवश्यकता औंल्याए ।

ऊर्जा क्षेत्रमा रहेका कानुनी तथा नीतिगत अड्चन समाधान गर्न १० वर्षका लागि विशेष कानून वा ‘ऊर्जा संकटकाल’ घोषणा गरेर काम अघि बढाउनुपर्ने उनको प्रस्ताव छ । विशेष गरी वन तथा वातावरण मन्त्रालयका नीतिहरू विकासमैत्री नभएको भन्दै उनले गुनासो व्यक्त गरे । राष्ट्रिय निकुञ्ज र वन सम्बन्धी कडा नीतिका कारण सडक, उद्योग र जलविद्युत् आयोजना प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले यस्तो अवस्थाको अन्त्य गर्न एकद्वार प्रणाली तत्काल लागू गर्नुपर्नेमा जोड दिए । उनका अनुसार ऊर्जा क्षेत्र नै देशको समृद्धिको प्रमुख आधार भएकाले यसको विकासबिना अन्य क्षेत्रको प्रगति कल्पनाभन्दा बाहिर हुन्छ ।

राजनीतिक परिवर्तनपछि अबको मुख्य एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने र त्यसमा जलविद्युत् क्षेत्रको भूमिका निर्णायक रहने उनले बताए । विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणापत्र तथा न्यूनतम साझा कार्यक्रममा जलविद्युतलाई प्राथमिकता दिएकोमा उनले सन्तोष व्यक्त गरे ।

कार्कीका अनुसार हाल नेपालमा उत्पादन भइरहेको करिब ४ हजार २० मेगावाट विद्युतमध्ये झन्डै ८५ प्रतिशत योगदान निजी क्षेत्रको छ । साथै, करिब १२ हजार ५ सय मेगावाट बराबरको विद्युत खरिद सम्झौता भइसकेको र करिब २१ हजार मेगावाट आयोजना अध्ययन तथा अनुमति प्रक्रियामा रहेको जानकारी उनले दिए ।

प्रशारण लाइनलाई ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो ‘बोटलनेक’ का रूपमा चित्रण गर्दै उनले यसमा पनि निजी क्षेत्रलाई लगानी गर्न दिनुपर्ने माग गरे । हेटौँडा–मुजफरपुर प्रसारण लाइन जस्ता महत्वपूर्ण पूर्वाधार समयमै निर्माण हुन नसक्दा उत्पादित विद्युत खेर जाने र प्रवर्द्धकहरू आर्थिक जोखिममा पर्ने अवस्था रहेको उनले बताए ।

उनले देशभित्र उत्पादित विद्युतलाई प्राथमिकता दिँदै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । “हामीलाई पुग्ने खपत गरेर मात्रै बाँकी विद्युत निर्यात गर्नुपर्छ,” उनले भने ।

नेपालले पहिले स्वदेशी खपतलाई प्राथमिकता दिनुपर्ने र त्यसपछि मात्र अतिरिक्त विद्युत भारत वा बंगलादेश निर्यात गर्नुपर्ने उनको सुझाव छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा ऊर्जा उत्पादनको ठूलो सम्भावना भए पनि पूर्वाधार अभावका कारण अपेक्षित विकास हुन नसकेको उनले उल्लेख गरे ।

आगामी १० वर्षभित्र ठूलो मात्रामा विद्युत उत्पादन गरी देशलाई आर्थिक रूपमा सुदृढ बनाउन सत्ता पक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले संसदमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।