१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न



अ+ अ-

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टे खोलामा दोस्रो राष्ट्रिय याकचौँरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यहाँस्थित हिमालय चौँरीपालन तथा संरक्षण समितिको आयोजना तथा थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा आज राष्ट्रिय याक दिवस हर्षोल्लासका साथ मनाइएको हो ।

सदियौँदेखिको परम्परागत याकचौँरीपालन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित यसवर्ष मुस्ताङसहित रसुवा र पाँचथर जिल्लामा पनि राष्ट्रिय याक दिवस मनाइएको छ ।

यहाँ आयोजित राष्ट्रिय याक दिवसको उद्घाटन गर्दै थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा परम्परागत याकचौरी पालन व्यवसायलाई संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हिमाली क्षेत्रमा पालन गरिने परम्परागत याकचौँरी व्यवसायीहरुको हकहितका लागि गतवर्ष राष्ट्रिय याकचौँरी महासङ्घ विधिवत दर्ता भएको अध्यक्ष गौचनले बताउनुभयो ।

जैविक विविधता र पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान पु¥याउने यसप्रकारको याकचौँरीपालन लोपोन्मुख अवस्थामा रहेकाले संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । याकचौँरीपालन व्यवसाय महङ्गो र जोखिमयुक्त रहेको उल्लेख गर्दै यसको दिगो व्यवस्थापनका लागि राज्य पक्षले याकचौँरीपालन व्यवसायको उत्थान गर्न ठोस कार्यक्रम अवलम्व गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष गौचनले बताउनुभयो ।

पछिल्लो समय याकचौँरीपालन व्यवसायको संरक्षणका लागि ८० प्रतिशत बिमा सुरक्षित गरिएकाले उच्च लेक र खर्कमा हुने प्राकृतिक तथा वन्यजन्तुबाट हुने क्षतिबाट कृषकलाई आशिंक राहत उपलब्ध भएको अध्यक्ष गौचनको भनाइ छ ।

यसैगरी राष्ट्रिय याकचौरी महासङ्घका केन्द्रीय सचिव सोजन हिराचनले गतवर्ष महासङ्घको पहलमा सरकारले मन्त्रिपरिषद्बाट बर्सेनि वैशाख ७ गतेका दिनलाई राष्ट्रिय याक दिवस मनाउने घोषणा गरेकाले मुस्ताङमा दोस्रो याक दिवस आयोजना गरिएको बताउनुभयो ।

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले याकचौँरीपालन व्यवसायलाई जोगाउन गाउँपालिका सदैव तयार रहेको बताउनुभयो । गाउँपालिकाले सम्भव भएसम्म यहाँका याकचौँरीपालन गर्ने किसानको उत्थानमा आर्थिक, भौतिक र प्राविधिक सहयोगका लागि तयार रहेको बताउनुभयो ।

सो अवसरमा हिमालयन चौरीपालन तथा संरक्षण समितिले यसवर्ष थासाङ–२ लार्जुङका याकचौँरीपालक राजेन्द्र तुलाचनलाई सम्मान गरेको छ । विगत २० वर्षदेखि निरन्तर रुपमा याक नाक (चौँरी)पालन व्यवसाय अपनाउँदै आइरहेका तुलाचनलाई हिमाली क्षेत्रको परम्परा र संस्कृतिको संरक्षण, स्थानीय आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पु-याएको भन्दै उत्कृष्ट याक नाक (चौँरी)पालन व्यवसायीको रूपमा सम्मान गरेको हो ।

दिवसका अवसरमा मुस्ताङमा पालन गरिएका याक नाक (चौँरी) मध्ये सर्वोत्कृष्ट याकचौँरीपालन गरेबापत थासाङ–२ सौरुका स्थानीय सोजन हिराचनलाई पनि सम्मान गरेको छ । रासस