काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ को लुब्दीखोला युवा परिवारले आयोजना गरेको भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ।
चैत २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रथम स्थान प्रथम आँधिखोला पिस युथ क्लबले हासिल गर्दै ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी आयोजक टिम लुब्दीखोला युवा परिवार दोस्रो हुँदै ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको लुब्दीखोला युवा परिवारका अध्यक्ष कमल थापाले जानकारी दिए ।
तेस्रो स्थान पतला देवी युवा परिवार पखरेले हासिल गर्दै २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ भने सान्त्वना स्थान पनि आयोजक टिम लुब्दीखोला युवा परिवारले नै प्राप्त गर्दै ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष थापाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व सांसद भगवत प्रकाश मल्लले युवाहरूको सक्रियताले समाजमा सकारात्मक ऊर्जा थपिएको बताए।
उनले खेलकुदले अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले गाउँ–समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस भीरकोट नगर कार्यसमितिका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले युवाहरूलाई सिर्जनात्मक र सामाजिक गतिविधिमा जोडिन आग्रह गरे।
उनले खेलकुदमार्फत प्रतिभा पहिचान र विकास हुने भएकाले स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
भीरकोट नगरपालिकाका पूर्व मेयर छायाराम खनालले स्थानीय स्तरमा यस्ता प्रतियोगिताले सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउने बताए । उनले युवाहरूलाई सकारात्मक बाटोमा अघि बढाउन खेलकुदजस्ता गतिविधि अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
कार्यक्रम समापनसँगै आयोजकले सहभागी सबै टिम, सहयोगी तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र भव्य रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्।











