२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने



असन बजार । फाइल तस्बिर ।
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।

यसअघि स्थानीय सङ्घसंस्था, क्लब तथा समुदायको चैत २८ गतेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकार भएका निकायका अधिकारी, स्थानीय सङ्घसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले कार्यक्रम तयारीमा कमजोरी हुन नदिन एक साता पछाडि सारेर वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

“असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो”, बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “वडा कार्यालयको नेतृत्व, सरोकार भएका तथा साझेदारको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।” आवागमन, स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘भेहिकल फ्री असन’ कार्यक्रमअन्तर्गत कामपा–२७ को कमलाक्षी चोकबाट असनसम्म, भोटाहिटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने कामपाले जनाएको छ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिने कामपाको तयारी छ ।

“स्थानीय, सङ्घसंस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो”, वडाध्यक्ष खड्गीले भन्नुभयो, “कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।”

छलफलमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङ र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन व्यवस्थापनलाई मजबुत बनाइने प्रतिबद्धता जनाउनुभयो । रासस