९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नम्बर वान’ बन्यो ग्लोबल बैंक, नयाँ बैंककाे नाम पनि ग्लोबल आईएमई बैंक



अ+ अ-

काठमाडौँ । नेपाल सरकार र राष्ट्र बैंकको नीति अनुरुप ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा गाभिएका (मर्ज) भएका छन्। मर्ज भएकाे नयाँ बैंककाे नाम ग्लोबल आईएमई बैंक राखिएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा शुक्रबार आयोजित विशेष समाराेहमा संयुक्त काराेबारकाे शुभारम्भ गरेका हुन् ।

संयुक्त काराेबारकाे समुद्घाटन समाराेहमा मन्तव्य राख्दै ग्लाेबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल । दुवै बैंक मर्ज भएपछि बनेकाे ग्लाेबल आईएमई बैंककाे अध्यक्ष समेत ढकाल नै हुन् । (तस्वीरः ग्लाेबल बैंक)

मर्जरपछि ग्लोबल आईएमई बैंक नेपालकै निजी क्षेत्रकाे सबैभन्दा ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ । मर्जरपछि बैङ्कको चुक्ता पुँजी रू २० अर्ब माथि पुगेको छ ।

यसअघि रहेको बैंककाे चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैंककाे चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकीकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो । चुक्ता पुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ ।

संयुक्त काराेबारकाे उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । (तस्वीरः ग्लाेबल बैंक)

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैंकको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ । मर्जर पछि बैंकको शाखा कार्यालय ३०० माथि पुगेको छ भने बैंकका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सेन र बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा (बायाँ) र गभर्नर डा चिरन्जिवी नेपाल (दायाँ)का बीचमा बैंकका अध्यक्ष चन्द्र ढकाल । (तस्वीरः ग्लाेबल बैंक)

बैंकको सेयर सदस्य संख्या तीन लाख माथि पुगेकाे बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैंकको सेवाग्राही (ग्राहक) संख्या २० लाख माथि पुगेको समेत बैंकले जानकारी गराएको छ ।

कार्यक्रममा बौल्दै अर्थमन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालिन मात्र नभएर मध्यकालिन र दीर्घकालिन लगानी मागिराखेको बताउनुभयो । “यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरुको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,” उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्रनर डा. चिरन्जीवि नेपालले बैैंक पुँजी लगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिनुभयो । “यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले । अब निक्षेपकर्ताहरुको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला । कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरु पनि बढ्छन् नै । त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस,” उहाँले भन्नुभयो । “बैंकहरुमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ । यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ । यसका साथै आफ्ना कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुप¥यो,” उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताउनुभयो । “अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रबाह गर्नुपर्छ ।”

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एकीकृत भइसकेपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमताको वृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने बताउनुभयो । उहाँले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज हुने बताउनुभयो । मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उहाँले मर्जर पछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैंक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेकोले सबल र सक्षम बैंक बनाउन मर्जरमा गएको बताउनुभयो ।
बैंकको पूँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा ठूला आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो । नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताउनुभयो । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजारमा निक्षेप परिचालनमा बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा वाणिज्य बैंकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताउनुभयो ।