९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’



अ+ अ-


काठमाडौंः नेपालकाे वातावरणका क्षेत्रमा लामाे समयदेखि सकृय संस्था नेपाल वातावरण पत्रकार समूहले निर्माण गर्न लागेको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएकाे छ । समूहको मुख्य कार्यालय रहेकाे ललितपुर भनिमण्डलमा आयोजित एक विशेष समाराेहमा अर्थमन्त्री डा युवराज खतिवडाले भवनको शिलान्यास गरेका हुन् । करिब १ कराेड ५० लाखकाे लागतमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित नयाँ भवनको शिलान्यास गरिएको समूहका महासचिव निमेष रेग्मीले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए । अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा बुझिनुपर्ने पनि बताए । उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले वातावरणको क्षेत्रमा उत्कृष्ट कार्य गरेर छुट्टै पहिचान बनाउन सफल भएको बताए । समूहका अध्यक्ष कसमस विश्वकर्माले समूहको स्थायित्वका लागि भवन अपरिहार्य रहेको र त्यसको शिलान्यास हुनु ऐतिहासिक कार्य भएको बताए । सरकारसँग नजिकमा रहेर वातावरण र विकासका मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनको भनाई थियो।

समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकोमा उनको जोड थियो। उनले सबैलाई आफ्नो क्षेत्रबाट भवन निर्माणका लागि सहयोग गर्न आव्हान पनि गरेका छन् । भवन निर्माणका लागि समूहले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पिसी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको संयुक्त उपक्रम (जेभी) सँग सम्झौता गरेको छ ।

अडियाे भिजुअल स्टुडियाे, अत्याधुनिक पुस्तकालय, सभाहल, हाकाहाकी अनलाइन समेतका लागि उपयुक्त कार्यस्थल निर्माण गर्नेगरी उक्त भवन निर्माण हुन लागेकाे हाे । याे जमिन समूहकाे स्वामित्वमा रहे पनि रकम अभावमा विगतमा भवन निर्माण हुन सकेकाे थिएन । तर २०७२ काे भूकम्पपछि समूहकाे पहलमा अग्रज पत्रकार सहजमान श्रेष्ठकाे अध्यक्षतामा रहेकाे तत्कालीन कार्य समितिले रेडियाे सगरमाथाका लागि भूकम्प प्रतिराेधी भवन निर्माण गरेकाे थियाे ।

समूहले हाल रेडियाे सगरमाथा १०२.४ मेगाहर्जमा सामुदायिक रेडियाे संचालन गर्नुका साथै वातावरण, जलवायु परिवर्तन, वन, जलाधार क्षेत्र समेतका विविध जल्दाबल्दा वातावरणीय विषयमा अडियाे, भिजुअल (आँखीझ्याल) लगायतका प्रचारात्मक, चेतनामूलक र दबाबमूलक कार्यहरू गरिरहेकाे छ । वातावरण र विकासका क्षेत्रमा लामाे समयदेखि कृयाशील समूहमा झण्डै १५० जना पत्रकार, विज्ञहरू सदस्य छन् ।