वीरेन्द्रनगर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्यायो ।
प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई कारवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति गल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि कारवाहीको उजुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिंसाको उजुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो ।
मदिरा नपाएको निहुँमा श्रीमान्बाट दिनहुँ कुटिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरिको घरव्यवहार र साँझ मदिराको झोकमा श्रीमान्को कुटाइले गर्दा शरीरको कुनै अङ्ग नै बाँकी थिएन । जति कुटे पनि चुपचाप सहँदै आएकी उनी छिमेकीले सोधे बिरामी भएको जवाफ दिँदै आएकी थिइन् । एक दिन अति नै भएपछि माइतीको साथ लागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई उपस्थित गराएर छलफल भयो । माइती बोकेर प्रहरी कार्यालय पुगेकी उनी एकाएक परिवर्तन भइन् । एकछिन अघिसम्म हिम्मतका साथ श्रीमान्लाई कारवाही गर्न पुगेकी उनको ‘मिलापत्र गर्ने’ जवाफ आएपछि प्रहरी उजुरी प्रक्रिया त्यही रोक्न बाध्य भयो ।
दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिन प्रहरी चौकी पुगेकी पूर्वी सुर्खेतकी एक २६ वर्षीया महिलालाई श्रीमान्को फोनले मन पगाल्यो । सौता हालेको थाहा पाएपछि प्रहरी चौकी पुगेकी उनलाई श्रीमान्ले फोनबाटै उजुरी नगर्न दबाब दिए । उनी भन्छिन्, “अन्याय भयो भनेर प्रहरीमा जाने आँट गरेँ तर कारवाहीका लागि उजुरी दिन सकिनँ ।” प्रहरीमा मुद्दा दिएपछि आफ्नो जागिर जाने र सबैको बिचल्ली हुने श्रीमान्को बिलौनाले उनको मन पग्लियो । उनी भन्छिन, “श्रीमान्को बिलौनापछि उजुरी दर्ता गराउन आँट नै आएन, जे भए पनि आफ्नैलाई जेल पठाएर कसरी बस्न सकिन्छ जस्तो लाग्यो अनि उजुरी दिन सकिनँ ।”
घरेलु हिंसा र बहुविवाह सहन बाध्य माथिका तीन महिला उदाहरण मात्र हुन् । उजुरी बोकेर जाने अधिकांश महिलाको प्रहरी कार्यालय पुग्दा मन पग्लिसकेको हुन्छ । हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन् । घरेलु हिंसापीडित अधिकांश महिलाले प्रहरीमा उजुरी गरे पनि मुद्दाको प्रक्रिया अघि नबढ्दै बयान फेर्दछन् । शुरुमा श्रीमान्लाई कारवाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि उनीहरुको मन परिवर्तन हुन्छ र अन्त्यमा मिलापत्रमै पुग्छन् । उनीहरु जति नै हिंसा सहे पनि अन्तिम विकल्प मिलापत्रलाई नै मान्दछन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७४/७५ मा घरेलु हिंसाका ४५९ उजुरी दर्ता भएकामा ४०३ वटा उजुरी मिलापत्रबाट टुङ्गो लागेको थियो । प्रहरी कार्यालयको रेकर्डअनुसार मिलापत्र गराइएका अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । यस्तै आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका घरेलु हिंसाका ४६६ उजुरीमध्ये ३९४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ७२ उजुरीलाई प्रहरीले अदालत लगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा प्रहरीमा पुगेका १९३ मध्ये १५५ वटा उजुरी मिलापत्र गरेर पठाइएको छ ।
प्रहरी कार्यालयको यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख डिला विकले उजुरी बोकेर आउने अधिकांश महिलाले प्रहरीमा पुगेपछि बयान बदल्ने बताउनुभयो । “घरपरिवार, बालबच्चा र समाजका कारणले नै हिंसा सहेर भए पनि महिलाहरु मिलापत्रमा जान्छन्”, उहाँले भन्नुभयो ।
प्रमुख विकका अनुसार प्रहरीमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्नसक्ने उजुरीमा मिलापत्र गरेर पठाइन्छ । उजुरी दिए पनि प्रहरीमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “आमनेसामने बसेपछि श्रीमान्को बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन् ।”