चितवन । बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षलाई कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।
शनिबार साँझ स्थानीयबासीको एक समूहले वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।

वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौं भनेका थिए, मैले प्रतिकार गरेँ,’ वडाध्यक्ष प्रजाले भने, ‘घटना भएको बेला मसँग २/३ जना दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुमाथि पनि कुटपिट भएको छ ।’
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।











