२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक कुरियर सेवा सुधार : ‘एक्सप्रेस वे’ लागू, अब बिदाकै दिन पनि सेवा उपलब्ध



अ+ अ-

काठमाडौं । हुलाकमार्फत सञ्चालन हुने कुरियर सेवामा सुधार गर्दै सरकारले अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोगको व्यवस्था लागू गरेको छ भने सार्वजनिक बिदाका दिन पनि सेवा उपलब्ध हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न सम्बन्धित निकायहरूसँग समन्वय गरी हुलाकमार्फत हुने वस्तु आयात–निर्यात प्रक्रियालाई थप सहज बनाएको हो।

नयाँ व्यवस्थासँगै विदेश पठाइने तथा विदेशबाट आयात गरिएका मालवस्तुको जाँचपास प्रक्रिया छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको विभागले जनाएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको समन्वयमा उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो समयको प्रयासपछि मन्त्रालयको निर्देशनमा यो व्यवस्था लागू गरिएको हो। उनका अनुसार अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ।

यससँगै सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने तथा विदेशबाट आएका सामान छुटाउने सेवा निरन्तर उपलब्ध हुने भएको छ। यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुला रहे पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन।

अन्तरनिकाय समन्वय अभावका कारण सेवामा समस्या आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो।

विभागका अनुसार गत फागुन महिनामा मात्र गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट १९ हजार दुई सयभन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी तथा बुक पोस्टमार्फत सामग्री विदेशबाट भित्रिएका छन् भने करिब ११ हजार सात सय यस्ता वस्तु निर्यात भएका छन्।

पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएकाले द्रुतमार्गको प्रयोग र बिदाको दिनसमेत सेवा सञ्चालनले सेवा गुणस्तर सुधार, व्यवसाय विस्तार र राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।