२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डोलप्रसाद अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा निर्वाचित भए संविधान र कानूनको परिधिभित्र रहेर निष्पक्ष तथा न्यायपूर्ण ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अर्यालले आफूलाई प्राप्त हुने जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्ने बताउनुभयो । उहाँले राज्यका तीन प्रमुख अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै संसद्को गरिमा उच्च राख्ने दाबी गर्नुभयो ।

उहाँले आफ्नो उम्मेदवारी व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रिय हितको संरक्षणका लागि भएको उल्लेख गर्नुभयो । सभामुख पदमा पुगेपछि संसद्को भूमिका अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहने पनि उहाँले स्पष्ट पार्नुभयो ।

अर्यालले भन्नुभयो, “मैले जुन जिम्मेवारी पाउने अवसर प्राप्त गर्छु, त्यो अझै प्रक्रियामै छ । यदि म उक्त पदमा पुगें भने नेपालको संविधान, कानून र नेपाली जनताको हितलाई केन्द्रमा राखेर व्यवस्थापिकाको काम न्यायपूर्ण ढंगले अघि बढाउनेछु ।”

सभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई उम्मेदवार बनाएको हो ।

सभामुख निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच सरगर्मी बढिरहेका बेला अर्यालले आफ्नो कार्यकालमा संसदीय अभ्यासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।