• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

ऐतिहासिक कोतघर जीर्णोद्धार गरिँदै



बागलुङ । चौबिसे राज्यका पालाको गलकोट कोतघर जीर्णोद्धार गरिने भएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिला राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । कोतघर जीर्णोद्धार नगर गौरवको योजनामा छ । चालू आवमा रु ५० लाख बजेट छुट्याइएको छ । आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने लक्ष्यसहित कोतघरको विकास र संरक्षणको काम अघि बढाइएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । “ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोदार गर्दैछौँ”, उहाँले भन्नुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनुपूर्व वडाले सरोकार भएका पक्षसँग छलफल÷परामर्श गरिरहेको छ । जग्गा व्यवस्थापन र घेराबारलगायत पूर्वाधार तयारीका काम यही वर्ष हुने वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना नगरपालिकाको छ । कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्धार गरिनेछ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए ।

राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएका छन् । “झिँगटीले छाएको भुइँतले दरबार थियो, अहिले पनि जगमा इँटाका अवशेष भेटिन्छन्”, गलकोट बहुमुखी क्याम्पसका प्रमुख एवं इतिहास विषयका अध्यापक कृष्णप्रसाद गौतमले भन्नुभयो । उहाँका अनुसार कोतघर पनि पहिले झिँगटीको थियो । विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने अध्यापक उहाँको सुझाव छ । कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् ।

तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति, शिला आदि छन् । मन्दिरमा अहिले पनि हरेक वडादशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । चैत्राष्टमीमा त कोतघरमा मेला नै लाग्छ । कोतघरको प्रवद्र्धनमा ‘गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च’ पनि सक्रिय छ । नगर प्रमुख भरत शर्मा गेरैले कोतघर गलकोटकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले कोतघरको विकासमा जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । “कोतघर गलकोटकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन्छ”, उहाँले भन्नुभयो ।

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गोलो पहाडको टाँकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ । चौबिसे राज्यअन्तर्गतको स्वतन्त्र गलकोट राज्यका अन्तिम राजा जगतबम मल्लसम्मले सोही कोतघरबाट शासन चलाएका थिए ।

विसं १८४४ मा गोरखा राज्यमा एकीकरण भएपछि गलकोटमा रजौटाको शासन शुरु भयो । नेपालको एकीकरणपश्चात् मल्ल राजा हटिया बजार नजिकको राजघरा हुँदै वडा नं ५ हरिचौरको सर्दाखेत सरेका थिए । उक्त दरबार अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । दरबारको उचित संरक्षण भने हुन सकेको छैन ।