२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै



अ+ अ-

ढोरपाटन, (बागलुङ) । नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।

अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ ।

जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख पौडले भन्नुभयो, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।”

जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो ।

“सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुईरतीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भन्नुभयो, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।” रासस