१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

दलित बस्तीमा ‘घुर’: जाडो छल्ने सहारा

दलित बस्तीमा ‘घुर’: जाडो छल्ने सहारा
अ अ+ अ-

महोत्तरी । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका छन् ।

मङ्सिर मध्ययता थुरथुर कमाउने पश्चिमी सिरेटो लगातार बहिरहेपछि न्यानो कपडा र पोषिलो खानेकुरा नहुँदा दलित बस्तीका बासिन्दा बाक्लो धुवाँको मुस्लो निस्कने ‘घुर’ (पात पतिङ्गर बटुलेर बालिएको आगोलाई यहाँ घुर भनिन्छ) वरिपरि बसेर न्यानो खोज्ने गरेका हुन् । गरिबीले न्यानो लुगाको जोहो गर्न नसकेपछि निकै धुवाँ आउने ‘घुर’मै गरीब बस्तीका दलितले न्यानो खोज्नुपरेको हो ।

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे अहिले यसरी बालिएका ‘घुर’ नै यहाँ जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहर, चमार, दुसाध, बाँतर, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा एउटा ‘घुर’ वरिपरि बुढाखाडा, बालबालिका र महिला एकै ठाउँ हात फैलाएर न्यानो खोजिरहेका भेटिन्छन् ।

किशोर र तन्नेरी यी बस्तीमा देखिँदैनन् । १३/१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाब, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर”, जिल्लाको भङ्गाहानगरपालिका–४ पलारको बतराही बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका चौठी बाँतरले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाब गएछन् ।” किशोर र तन्नेरी पञ्जाब नगए मुखमा माड नलाग्ने चौठीको थप भनाइ थियो ।

महोत्तरी सहितका पूर्वी मध्यतराईमा वर्षेनी हिउँदमा शीतलहरको कहर हुने गरेको छ । यद्यपि यता अहिले नै शीतलहर भने आएको छैन, तर चिसो भने निकै बढेको यस्तो बेला न्यानो कपडा लगाउनुपर्ने, घर बाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । चरम गरिबी र अशिक्षाले आक्रान्त मुसहर, चमार, बाँतर, दुसाध, डोम, मेस्तर र खत्बे जातिको बस्तीमा उक्त सन्देश अझै आएको देखिँदैन ।

“न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने, पोषिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन हजुर”, जिल्लाको औरही नगरपालिकाको टिम्कियास्थित दलित मुसहर बस्तीकी शनिचरी सादाले प्रश्न गर्दै भन्नुभयो, “सबै कुरा पैसाले नै गर्ने रे छ, अब जाडोमा बाहिर ननिस्कने भनेर घर बसे लालाबालाको मुखमा माड कसरी लाग्ला रु” पछिल्ला तीन दिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको शनिचरीको भनाइ थियो ।

चिसो सिरेटोबाट बच्न यहाँका बस्तीमा सल्काइएका ‘घुर’ ताप्दा श्वास प्रश्वासका बिरामी झन थपिएका छन् । “चिसोमा त्यसै पनि ससानाबालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाँज्ने गर्छ”, जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेण्डेण्ट डा राजिब झा भन्नुहुन्छ, “धुवाँ रुमलिएको घुर ताप्दा विषाक्त धुवाँले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।”

राम्ररी नसुकेको पतिङ्गर बाल्दा त्यसबाट निस्केको धुवाँले यस्ता बिरामी अझ बढेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । खासगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिका रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासका बिरामी बढेको डा झाले बताउनुभयो । मङ्सिर मध्यदेखि छिप्पिँदै गएको चिसो झन्झन् बढ्दो क्रममा छ । पश्चिमी वायुको प्रभावले लगातार बगिरहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् ।

चिसो बढेसँगै खानपान, आहार व्यहारमा राम्रो ख्याल राख्न स्वास्थ्यकर्मीले सुझाएका छन् । घर वरपर सरसफाइ, खानामा सागपात र गेडागुडीको झोल र तातो पानीको प्रयोग र चिसो बढी हुने साँझ बिहान बाहिर ननिस्कँदा मात्र पनि चिसोबाट हुने समस्याबाट बच्न सकिने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झा बताउनुहुन्छ ।

वर्षेनी हिउँदमा भोग्दै आइएको यो समस्यामा पूर्वसजगताको कमी भएको यहाँका बुद्धिजीवी बताउँछन् । चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाँजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोषिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकदमी लिनुपर्ने बुद्धिजीवीले सल्लाह दिएका छन् ।